
काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका एमाले नेता गुप्ता र पूर्व मन्त्री नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो घोटाला प्रकरणमा मुद्दा अघि बढेको थियो । उक्त अडियो सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ । अख्तियारस्रोतका अनुसार अधिकारीको संलग्नता रहेको÷ नरहेको बारेमा अनुसन्धान जारी रहेको छ । अनुसन्धानपछि संलग्नता देखिए पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले स्पष्ट पारेको छ ।
गत असारमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि चौतर्फी आलोचना हुन थालेपछि गुप्ताले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।









Facebook Comments