काठमाडौं । अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएको छ । 

प्रहरीले सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै निर्णय गर्ने भएको छ। जाहेरीलाई एक दिन समय मागेको अनेरास्ववियु पूर्वअध्यक्ष समिक बडालले बताए।

ad

बडालले थप न्यायिक निरुपणका लागि आफूहरू सम्बन्धित ठाउँमा जान तयार रहेको बताए। उनले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूलाई अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। 

उनले त्यसका लागि आवश्यक प्रमाणहरू पनि बुझाएको बताए। 'जेनजीका नाममा बालबालिकाको हत्या भएको छ। सिंहदरवार, अड्डाअदालत जलेका छन्। राष्ट्रिय सुरक्षामा खतरा महसुस भएको छ। हामी दण्डहीनतालाई टुलुटुलु हेरेर बस्दैनौं,' उनले भने।

त्यस्तै अखिलका महासचिव दीपक धामीले कोही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा हुकुमी शासन चलाइरहेको आरोप लगाए। 'प्रहरीलाई कुटी कुटी मारिएको छ। विद्यार्थीलाई गोली हानिएको छ। शान्तिको प्रतीकको रूपमा रहेको देशमा विध्वंश मच्चाइएको छ। त्यो हुनु हुँदैन। हामी पनि त्यही समूहका युवाहरू हौं। अनधिकृत मान्छेहरू सिंहदरवार छिरेर हुकुमी शासन लाद्नु हुँदैन,' उनले भने।