काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरूउपर अनुसन्धानलाई तीव्र बनाएको छ । यसक्रममा विभागले विभिन्न निकायहरूलाई विवरण पठाउन पत्राचार गरेको छ। 

विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेर विवरण पठाउन भनेको छ । 

ad

विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरण मागेको हो । 

यस्तै विवरण विभागले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा पनि मागेको छ । निवर्तमान मन्त्री तथा कांग्रेस नेता दीपक खड्काका पनि यस्ता विवरण पठाउन भनिएको छ । 

विभाग स्रोतका अनुसार राष्ट्र बैंकमार्फत नेताहरूको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र मौज्दात पठाउन पत्राचार गरिएको छ । यो पत्राचार दसैँ बिदाको अघिल्लो दिन १२ गते नै राष्ट्र बैंकलाई गरिएको छ । राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि खाता रोक्का गर्नेसम्मको तयारी छ । 

कम्पनी रजिस्ट्रार, सीडीएस र मालपोतलाई भने विवरण पठाउन आजै पत्राचार गरिएको स्रोत बताउँछ । कम्पनी रजिस्ट्रारबाट नेताको संलग्नता रहेका विभिन्न कम्पनीबारे, सीडीएसबाट धितोपत्र कारोबार र मालपोतबाट घरजग्गाको विवरण मागिएको छ । 

शीर्ष नेताको घरमा गएर जेन–जी आन्दोलनमा जलेका पैसामाथि अनुसन्धान चलिरहेको छ । यसको अहिले प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण चलिरहेको छ । 

‘शीर्ष नेताहरूको सम्पत्तिमाथि प्रारम्भिक जारी छ । यसका लागि आवश्यक विवरण सम्बन्धित निकायबाट मागिएको छ,’ विभाग स्रोत भन्छ, ‘छुट्टै अनुसन्धान टोलीमार्फत काम भइरहेको छ ।’