काठमाडौं । जेन–जी आन्दोलनका केही अगुवाहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न अभियान चलाएका छन् । यसका साथै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्न दबाब बढाएका छन् । एकसाथ पोस्टर बनाएर जेन–जी आन्दोलनका अगुवाहरूले सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

जुन दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरे, त्यस दिनदेखि यो आवाज बलियो बन्दै गएको हो ।

ad

९ असोजमा बालेन प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । सरकारी स्रोतहरूका अनुसार त्यस दिन बालेनले प्रधानमन्त्री कार्कीलाई भनेका थिए– 'जेन–जीको प्रदर्शनका क्रममा गोली हान्ने गैरजिम्मेवार व्यक्तिहरूलाई तुरुन्त कारबाहीमा ल्याउनुपर्‍यो ।' 

त्यसको अर्थ तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्नुपर्ने माग बालेनले गरेका हुन् । प्रधानमन्त्री कार्कीलाई बालेनले ओली र लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन दबाब दिएको त्यही अभिव्यक्तिले जनाउँछ । 

त्यही कारण सरकारले ओली र लेखकसहितका नेताहरूको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो । सरकारले परिपत्र गरेर राहदानी विभागलाई रोक्का गर्न निर्देशन दिएको थियो ।

बालेनले ओली र लेखकलाई पक्राउ गरी कारबाही गर्न दबाब दिनु र राहदानी रोक्का गर्ने सरकारी निर्णय सार्वजनिक हुनु संयोग मात्र नभएको टिप्पणी भइरहेको छ । सरकारी स्रोतका अनुसार त्यस दिन बालेनले प्रधानमन्त्री कार्कीसँग ओली र लेखकलाई पक्राउ गर्न दबाब दिएसँगै सुरक्षा निकायहरूले पनि आ–आफ्नो सुरक्षा विश्लेषण गरेका थिए ।

प्रधानमन्त्री कार्कीमाथि बालेनले भेटेरै दबाब बढाएको भोलिपल्ट १० असोजमा सेनापति अशोक सिग्देलले पूर्वसेनापतिहरूसँग छलफल गरेका थिए । पूर्वसेनापति मात्र होइन, विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरूसँग छलफल गरेका थिए । उनीहरू जंगी अड्डामा जम्मा भएर अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा छलफल गरेका थिए । पृतनापतिहरूसँग पनि भर्चुअल रूपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ ।

यसबीचमा जेन–जी आन्दोलनको अगुवा भनिएका सुदन गुरुङले विभिन्न फोरममा ओली र लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । 

गत शनिबार अर्थात् १८ असोजमा जेन–जी अगुवाहरूले बालुवाटारमा विभिन्न मन्त्रीहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा पनि ओली र लेखकलाई कारबाहीको माग उठेको थियो । त्यसरी माग उठेको तेस्रो दिन सामाजिक सञ्जालमा अभियान चल्नुलाई संयोगको रूपमा पनि हेरिएको छैन ।