काठमाडौं । अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौं ल्याउन लागिएको छ ।   

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौं उड्ने छ । 

ad

यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । बेलिहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । 

यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइट उडाउन थालेका र यसबाट यात्रुलाई राहत पुग्ने विश्वास लिएको उनले बताए ।

चार्टर फ्लाइटका लागि एयरलाइन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधारण जनतालाई सेवा दिने गरी नेपाल एयरलाइन्सले भैरहवा–काठमाडौं चार्टर उडान गर्न थालेको हो ।