
सरकारले हाल भइरहेको वर्षा झन् बढ्ने भन्दै नदी किनाराका बासिन्दालाई जनधनको रक्षा आफैं गर्न सचेत गराएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले भोलि (आइतबार) बिहानसम्मै भारी वर्षा हुने भन्दै नदी किनारामा बस्नेलाई सतर्क हुन आग्रह गरेका हुन् ।
‘वर्षात्को कारणले विभिन्न ठाउँमा समस्या आउने देखिएको छ । यसैले विपद् व्यवस्थापनका लागि सडक, सिँचाइ र मौसम विभागका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौं,’ घिसिङले सञ्चारकर्मीसँग भने, ‘भएका संरचनालाई कसरी बचाउने, आम जनसमुदायलाई सुरक्षित कसरी राख्ने, सूचना कसरी प्रवाह गर्ने भनेर छलफल गरेका हौं ।’
आज साँझबाट काठमाडौं उपत्यकामा झन् ठूलो वर्षा हुने भन्दै उनले सचेत भएर जिउधनको रक्षा गर्न पनि आग्रह गरेका छन् ।
‘शनिबार ५ बजेपछि भोलि बिहान, ८, ९ बजेसम्म काठमाडौंमा ठूलो पानी पर्ने पूर्वानुमान छ,’ उनले भने, ‘यसैले नदी किनारामा बस्नेलाई सर्तक हुन, ज्यान र धनलाई सुरक्षित राख्न अनुरोध गरिएको छ ।’
अत्यधिक वर्षापछि बाटो अवरुद्ध भएको भन्दै उनले जोखिम मोलेर यात्रा नगर्न पनि आग्रह गरेका छन् ।









Facebook Comments