काठमाडौं । पार्टीका उपमहासचिव जनार्दन शर्मालगायत नेताहरूले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणका लागि जोडदार माग गरिरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल कायम रहेको केन्द्रीय समिति भंग गरेर आफ्नै संयोजकत्वमा आयोजक समिति बनाई आगामी मंसिरको अन्तिम साता विशेष महाधिवेशन गर्ने प्रस्ताव माओवादीको केन्द्रीय कमिटीले पारित गरेको छ ।

अध्यक्षसहित पदाधिकारीहरूले राजीनामा दिएर अर्कोपटक नेतृत्वमा नआउने संकल्प गर्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको अवस्थामा प्रचण्डले भने नौटंकी गर्दै फेरि नेतृत्वमा आउने मनसाय देखिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शर्मालगायत केही प्रभावशाली नेताहरूले नेतृत्व छाड्न दबाब दिए पनि विभिन्न बहाना देखाएर प्रचण्डले अर्को कार्यकाल पनि अध्यक्ष बन्ने लालसासहित आफ्नो पक्षमा निर्णय गराउन सफल भएका छन् ।

ad

पार्टीको महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गर्ने गरी हाल कार्यबाहक अध्यक्ष आफूलाई दिनुपर्ने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्ताव अस्वीकृत गराउन प्रचण्डले सफलता पाएका छन् । बिहीबार र शुक्रबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्दै यसको संयोजक प्रचण्डलाई तोकेको छ । 

बैठकमा प्रचण्ड र उनको परिवारको विलासी जीवनका बारेमा प्रश्न उठाउँदै छानबिन गर्न माग उठेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ । माओवादीका केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डको ६४ लाखको रोेलेक्स घडी र उनकी छोरीको २८ लाखको लुइस भुटन ब्यागको सार्वजनिक समाचारको विषयमा प्रश्न उठाएका थिए ।

उनले माओवादी शान्तिप्रक्रियामा आएपछि लाभको पदमा पुगेका पार्टीका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मागसहित प्रस्ताव पेस गरेका थिए । उनले विगत १८ वर्षदेखि प्रधानमन्त्री, अर्थ, गृह, ऊर्जा, भौतिक, वनजस्ता मन्त्रालयको मन्त्री पटक–पटक पार्टीका नेताहरूले सम्हालेका उल्लेख गर्दै त्यसक्रममा राजनीतिक र संवैधानिक नियुक्ति, लाइसेन्स, ठेक्का, पदोन्नति, सरुवा–बढुवालगायतबाट नेताहरूले आर्जित गरेको लाभको निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।