
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षबाट विशेष महाधिवेशन आयोजक समिति संयोजकमा रूपान्तरण भएका पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनमा उम्मेदवार नबन्ने भएका छन् । प्रचण्डनिकट नेता वर्षमान पुनले यस्तो दाबी गरेका हुन ।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन्।
उनले अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार पनि नहुने र प्रतिस्पर्धा नै नगर्ने दाबी गरे।
शुक्रबारदेखि चलेको माओवादी केन्द्रीय कमिटी बैठक महाधिवेशन आयोजक समिति गठन गर्दै आज सम्पन्न भएको हो।
महाधिवेशन आयोजक समितिका सदस्य रहेका पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताए। उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताए।
अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको बताए।
आजबाट आफूहरू पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए। जेन जी आन्दोलनको मुल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उनको दाबी छ।
उनले भने, ‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौँ। पार्टीले जेन जी आन्दोलनको मुल स्पिरिट, पार्टीलाई लोकतान्त्रीकरण, शुद्धीकरण अझ नयाँ बनाउनुपर्छ। र जेन जी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबैभन्दा पहिला अघि बढेर आत्मसात् गरेको छ। यो जेन जी आन्दोलनका सहिदहरुप्रतिको सम्मान हो।’









Facebook Comments