काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न वर्तमान संकट समाधानका लागि राजनीतिक दलहरूले बढी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुक सधैँ यस्तो अवस्थामा रहन नसक्ने बताइन्। यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने उनको निष्कर्ष थियो।

ad

पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई निकास दिनका लागि राजनीतिक दलहरूलाई सुझाव दिन समाजका सबै तहलाई आग्रह गरिन्। उनले राजनीतिक दलहरूलाई जनताको बीचमा गएर निकासका लागि सुझाव लिन ढिलाइ गर्न नहुने बताइन्।

उनले भनिन्, 'मेरो राजनीतिक दलहरूलाई के सुझाव छ भने– उहाँहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन? के सुझाव दिन्छन् जनसमूदायले, त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई। र, पार्टीहरूको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ।'

पूर्वराष्ट्रपति भण्डारीले अहिलेको अस्थिरताले मित्र राष्ट्रहरूलाई समेत पीर पार्न सक्ने भन्दै शान्ति र स्थायित्वका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

उनले दलका नेताहरू बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही गर्न नसक्ने तरिकाको सार्वजनिक रूपमा नै आलोचना समेत गरिन्। उनले राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोभावना, उनीहरूको माग लाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्। साथै, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई युग सुहाउँदो निर्माणमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।