काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद एवं सामाजिक व्यक्तित्व दिव्यमणी राजभण्डारीले राष्ट्र पुनःनिर्माणका लागि ५१ लाख रुपैयाँ सहयोग गरेका  छन् । 

विहीबार उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सरकारको कोषमा बैंक ट्रान्सफर मार्फत ५१ लाख रुपैयाँ जम्मा गरेको कागजात बुझाएका हुन् । 

ad

उनले उक्त रकम बुझाएको कागजात बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

उनले लेखेका छन्, 'भगवानको कृपा, गुरुदेव र अग्रजहरुका आशीर्वाद अनुसार दिव्य वचन पूरा गरियो । नेपाल सरकारका कोषमा बैंक ट्रान्सफर मार्फत  रु एक्काउन्न लाख रकम जम्मा गरेको डकुमेन्ट सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाइयो । वीर शहीदहरूमा पुनः श्रद्धाञ्जली अर्पण गर्दै यस्ता रकमहरूका सदुपयोग गरी  दिवंगत शहीदहरूका आत्मालाई चिरशान्ति मिल्ने कार्य गर्न र कार्यहरू उहाँहरुका सम्झनामा नामाङ्कन गर्न अनुरोध गरियो । पुण्य कार्यमा सहभागी हुन अनुरोध छ ।'

उनले सहयोगका लागि मनकारीहरूलाई आग्रहसमेत गरेका छन् । उनले गत असोज १ गते सामाजिक सञ्जालबाटै ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । 

हालको अन्तरिम सरकारले देश पुननिर्माणका लागि सहयोगी हातहरू खोजिरहेका बेलामा राजभण्डारीले ५१ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

सांसद भएपछि व्यापारबाट संन्यास लिएका राजभण्डारीले यसअघि पनि कोभिडको समयमा र भूकम्पको राष्ट्रिय विपत्तिको बेलामा समेत राष्ट्रिय कोषमा योगदान दिएका थिए। 

यो आन्दोलनबाट भएको क्षति पछिको पुनःनिर्माणमा समेत उनले यो सहयोगको घोषणा गरेर अरुलाई पनि राष्ट्रिय कोषमा योगदान गर्न प्रेरित गरेका छन्।