अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यारिबियन सागरमा लागुपदार्थ ओसारपसारमा संलग्न रहेको भन्दै डुङ्गाहरूमाथि गरेको हवाई हमलालाई कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले “अत्याचार” भनेका छन् छन्।

उनले बीबीसीलाई दिएको एक अन्तर्वार्तामा यदि आक्रमणमा कोलम्बियाली नागरिक मारिएको प्रमाणित भएमा अमेरिकी अधिकारीहरूविरुद्ध फौजदारी मुद्दा चलाउनुपर्ने माग पनि गरेका छन्।

ad

ट्रम्प प्रशासनले यो महिनाको सुरुवातबाटै सुरु भएका हवाई हमलाहरूले १७ जनाको ज्यान लिएको बताइएको छ। ट्रम्पले यी हमलाहरूलाई अमेरिकामा लागुऔषध, विशेषगरी फेन्टानिलको प्रवाह रोक्नका लागि आवश्यक भएको बताएका छन्।

तर, कानुनी विशेषज्ञ र सांसदहरूले यी हमलाहरूले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लङ्घन गरेको हुनसक्ने भन्दै प्रश्न उठाएका छन्।

पेट्रोले भने, “यदि तपाईँले डुङ्गालाई रोकेर चालक दललाई पक्राउ गर्न सक्नुहुन्छ भने किन मिसाइल प्रहार गर्ने? यसलाई त हत्या भनिन्छ।”

उनले लागुऔषध तस्करी गर्ने स्पिडबोटहरूलाई रोक्नका लागि “शून्य मृत्यु” हुनुपर्नेमा जोड दिए।

पेट्रोले थपे, “हामीले अमेरिकी र अन्य एजेन्सीहरूसँग कोकिन बरामद गर्नका लागि समुद्री अभियानहरूमा लामो समयदेखि सहकार्य गर्दै आएका छौँ। तर, यसअघि कहिल्यै कोही मरेका छैनन्। कसैलाई मार्नु आवश्यक छैन।”

उनका अनुसार यदि “पिस्तोलभन्दा बढी केही पनि प्रयोग गरियो भने” बलको समानुपातिकताको सिद्धान्तको उल्लङ्घन हुन्छ।

 
 हमलाको निशाना भेनेजुएला र ट्रम्पको कठोर नीति

ट्रम्प प्रशासनका अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएका यी हमलाहरू मुख्यतया कोलम्बियाको छिमेकी भेनेजुएलालाई लक्षित गरिएको छ। यद्यपि, अमेरिकाले आक्रमणका निशाना र मारिएका व्यक्तिहरूबारे धेरै विवरण दिएको छैन।

यसैगरी, ट्रेन डे आरागुआ नामक गिरोहका सदस्यहरू पहिलो आक्रमणमा मारिएको भन्ने अमेरिकी दाबी पनि विवादमा परेको छ।

संयुक्त राष्ट्रसंघका विज्ञहरूले यी हमलाहरूलाई अदालतबाहिर दिइएको मृत्युदण्ड (extrajudicial executions) को संज्ञा दिएका छन्। वासिङ्टनका डेमोक्रेटिक सांसदहरूले पनि ह्वाइट हाउससँग यी हमलाको कानुनी आधारबारे जवाफ माग गरेका छन्।

पेट्रोको टिप्पणीबारे सोध्दा, ह्वाइट हाउसले ट्रम्प “अमेरिकामा लागुऔषधको प्रवाह रोक्न र दोषीलाई न्यायको कठघरामा ल्याउनका लागि अमेरिकी शक्तिको हरेक तत्व प्रयोग गर्न तयार रहेको” बताएको छ।
 

संयुक्त राष्ट्रसंघको वार्षिक उच्चस्तरीय बैठकका लागि न्युयोर्कमा रहँदा भएको उक्त अन्तर्वार्तामा पेट्रोले ट्रम्प प्रशासनमाथि आफ्नो जनतालाई अपमान गरेको आरोप लगाएका छन्।

उनले कोलम्बिया जस्ता दक्षिण अमेरिकी राष्ट्रहरू “राजासामु झुक्ने छैनन्” भनेका छन्।

यस वर्षको सुरुवातमा ट्रम्पले केही ल्याटिन अमेरिकी आपराधिक समूह र लागुऔषध कार्टेलहरूलाई विदेशी आतंकवादी संगठन को रूपमा घोषणा गरेका थिए। उनले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै दक्षिण अमेरिकाप्रति कठोर नीतिहरू अवलम्बन गर्दै आएका छन्।

आफ्नो देश थप एक्लोपनमा पर्ने जोखिमबारे सोधिएको प्रश्नमा पेट्रोले ट्रम्पले आफ्नो विदेश नीतिका कारण अमेरिकालाई नै एक्लो बनाइरहेको जवाफ दिए।

“ट्रम्पले मलाई राष्ट्रपतीय अभियानको बेला नै अपमान गरिसकेका छन्, उनले मलाई आतंकवादी भनेका थिए,” पेट्रोले भने।