काठमाडौँ । जेनजी आन्दोलनमा नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । त्यस्तै सो पार्टीका नेता र कार्यकर्ताका १५८ वटा भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको छ । 

एमाले महासचिव शंकर पोखरेलले बुधबार बसेको केन्द्रीय कार्यालय बैठकबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै आगजनी र तोडफोड भएका अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको जानकारी दिए ।

ad

उनले आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका समेत बताएका छन् ।

‘आज केन्द्रीय कार्यालयको बैठक च्यासलमा सम्पन्न भयो। बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्‍यो। प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ। त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ। आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका छन् ।

राष्ट्र, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पङ्क्ति पुनः जुरमुराएर उठ्तैछ।’