
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने ‘विद्युतीय प्रणाली’ लागु भएपछि राजमार्गमा ट्रक रोकेर दुःख दिने काम बन्द हुने दिनको सुरुआत भएको बताएका छन् ।
खनालले आफ्नो सामाजिक सञ्जालमार्फत बुधबारदेखि नै विराटनगर भन्सारबाट यो सेवा सुरु गरिएको जानकारी दिएका छन् ।
नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र नभई निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि भएको मन्त्री खनालले बताएका छन् ।
'भन्सार प्रशासनको इतिहासमा पहिलो पटक विराटनगर नाकाबाट ‘विद्युतीय प्रणाली’ प्रारम्भ गरिएको छ,' उनले लेखेका छन्, 'यसले व्यापारको लागत घटाउने छ, अवान्च्छित लेनदेन शून्य पार्ने छ, व्यवसायीलाइ इमानदार हुन सहयोग गर्ने छ ।'
विराटनगर नाकामा लागु भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा सबै भन्सारमा लागु हुने पनि उनले जानकारी दिएका छन् ।
यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न ‘विद्युतीय रिस्क इन्जिन’ सञ्चालन हुने र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने मन्त्री खनालले बताएका छन् । यो व्यवस्थाले राजमार्गमा ट्रक रोकेर दुःख दिने काम बन्द हुने अपेक्षा मन्त्री खनालको छ ।








Facebook Comments