काठमाडौं। नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन गर्न आवाश्यक भएकोले केन्द्रिय समितिलाई विशेष महाधिवेशन गर्नका लागी माग गर्दै सुझाव  पठाएको धनकुटा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकमा जेन जी आन्दोलन पछि उत्पन्न परिस्थितिमा समयको माग यूवाहरुको चाहना र भावना अनुसार नेपाली कांग्रेसलाई पुस्तान्तरण र रुपान्तरण गर्न आवश्यक भएकोले अहिलेको प्रतिकुल अवस्थामा विशेष महाधिवेशन गरी पार्टीलाई नविनतम् ढंगले अगाडी बढाउन आवश्यक भएको पार्टीका पदाधिकारी तथा जिल्ला सदस्यहरु महासमिति सदस्य तथा महाविधेशन प्रतिनिधि र पार्टीका साथीहरुले सुझाव दिएकाले सोही अनुसार नेपाली कांग्रेस केन्द्रिय समितिमा पठाइएको नेपाली कांग्रेस धनकुटा कांग्रेसले जनाएको छ ।

ad

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले अहिले पार्टीलाई र देशलाई ठूलो संकट भएकोले अहिलेको नेतृत्वबाट पाटीलाई अगाडी बढाउन समस्या हुने भएकोले विशेष महाधिवेशन गरेर पार्टीलाई नया जोशका साथ अगाडी बढाउने पर्ने धारणा राखे । उनले नेतृत्व परिवर्नतन अहिलेको आवश्यक भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जो बदलिन्छन् तिनले नेतृत्व दिन्छन् जो बदलिन्दैन्न उनी विदा दिन्छन, सिद्धिछन र पतन पनि हुन्छन् भने । उनले पार्टी, सरकार लगायत राज्यको हरेक तह तथा निकाय, समाजमा पुस्तान्तरण र रुपान्तरण गरी नयाँ नेतृत्व आउनु पर्ने आवश्यक भएको वताए ।

नेपाली कांग्रेस पार्टीको आगामी रणनीतिको वारेमा सुझाव दिने सम्वन्धमा छलफल गर्दा अहिलेको विषम परिस्थितिमा पार्टी संगठनलाई अगाडी बढाउन कठिन हुने भएकोले नविनतम ढंगबाट पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्नका लागी विशेष महाधिवेशन अबिलम्ब बोलाउन केन्द्रिय समितिलाई सुझाव सहित अनुरोध गर्ने निर्णय  गरेको हो ।

नेपाली कांग्रेस धनकुटाको बैठकले जेन जी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नु हुने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गरी सम्मान गर्न र घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न, सहिद परिवार र घाईतेहरुलाई जीवन निर्वाहका लागी तत्काल राहत उपलब्ध गराउन, दीर्घकालिन रुपमा रोजगारको व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय  गरेको छ ।

यसैगरी जीवन उत्सर्ग गर्नु हुने योद्धाहरुप्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्ने, शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्ने र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय  समेत धनकुटा कांग्रेसले गरेको छ ।

जेन जी आन्दोलनका मागहरु जायज भएता पनि आन्दोलनको क्रममा घुसपैठ भई सामरिक महत्वको सिंहदरवार, सर्वोच्व अदालत लगायत दर्जनौ सरकारी तथा निजी भवनहरु, व्यापारिक प्रतिष्ठानहरुमा आगजनी तथा तोडफोड गरी खर्वौ रुपैयाको धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै घुसपैठ भई ध्वस्त गरिएको भौतिक संरचनाहरुको घटना प्रति घोर भत्र्सना गर्ने जिल्ला समितिको बैठकले  निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।