
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए ।
आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे ।
निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनले बताए ।
अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए ।
‘हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तिको सामना गर्दै यो अवस्थामा आइपुगेका हौँ । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दोलनपछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हामीसामु यो अवस्थाबाट माथि उठ्नुपर्ने चुनौती छ,’उनले भने ।
यद्यपि वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको बताए ।
उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसँगको सहकार्यमा महासंघ सधैँ सकारात्मक रहेको धारणा राखे ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरुमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताए । उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताए ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यक्ता भएको बताए ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नुपर्ने बताए ।
सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैँ खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताए । महासंघ र सेजनबीच लामो समयदेखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिए ।
महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।








Facebook Comments