
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत चेङले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन्।
भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पु¥याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए । नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याएका थिए ।
जवाफमा भारतीय राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको बताए ।
भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको उनको भनाइ थियो । उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो ।
चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताएका थिए ।
सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउँदै उनले नेपाल र चीन बैंकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न चिनियाँ राजदूतलाई अनुरोध गरेका थिए ।
जवाफमा चिनियाँ राजदूतले चीनले नेपाली जनताको छनौटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै सहयोग निरन्तर रहने बताए । साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा जानकारी गराएका थिए ।









Facebook Comments