
काठमाडौं । भदौ २३ र २४ गते जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुमा आज सार्वजनिक भएका छन् ।
भदौ २४ गतेपछि झण्डै एक हप्ता सैनिक सुरक्षामा रहेका ओली भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा घर भाडामा लिएर सरेका थिए । अध्यक्ष ओलीले मंगलबार पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतसहित युवाहरुसँग सामूहिक भेट गरेका छन्।
उनले आफ्नो डेरामा पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट शुरु गरेका छन् । उनले हिजो वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेललगायत पदाधिकारीहरूसँग भेटघाट गरेका थिए भने आज केही सचिवहरूलाई भेटघाटका लागि बोलाएका छन् । ओलीको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटस्थित निवासमा प्रदर्शनकारीले भदौ २४ गते आगजनी गरेका थिए ।




Facebook Comments