काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन् । 

आइतबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा शर्माले शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म कार्यभार नारायणकाजीलाई दिनुपर्ने र त्यसपछि नयाँ पुस्ताको नेतृत्वलाई सुनिश्चित गर्ने प्रस्ताव पेस गरेका हुन् ।

ad

पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे व्यापक दस्ताबेज पेस गर्दै महाधिवेशनसम्म पार्टीको संयोजन गर्ने कार्यवाहक नेतृत्व श्रेष्ठलाई दिन प्रस्ताव गरेका हुन् । नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्न अबको बाटो तय गर्नुपर्नेमा उनले जोड दिए । 

उनले जेनजी आन्दोलनलाई समस्या मात्रै नभई समाधानको बाटो खोल्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै पार्टीको सोच, व्यवहार, नीति, संरचना र नेतृत्व प्रणाली आमूल परिवर्तन नगरी अघि बढ्न नसक्ने औँल्याएका छन् । 

बैठकमा प्रस्तुत शर्माको प्रस्तावमा संविधान मुर्छित, संसद् विघटन, राष्ट्रियता र सार्वभौमिकतामाथि खतरासहित वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर मूल्यांकन गरिएको छ। उनले निर्वाचन सम्पन्न गर्न मद्दत गर्ने, विगतका भ्रष्टाचार र घटनाबारे छानबिन आयोग गठन गर्नुपर्ने मागसमेत राखेका छन् ।

उनको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिला, दलित, अल्पसंख्यक र उत्पीडित समुदायको नेतृत्व विकास, सहिद परिवार र अपांग योद्धाको व्यवस्थापन, पुनर्निर्माणमा स्वयंसेवक परिचालन र भ्रष्टाचारमुक्त पार्टी बनाउन स्वतन्त्र छानबिन आयोग गठनजस्ता विषय समावेश छन् ।

बैठकमा अन्य पदाधिकारीहरूले पनि शर्माको प्रस्तावमाथि छलफल सुरु गरेका छन् । जसमा धेरैजसो नेताहरूले जेनजी आन्दोलनको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ ।