काठमाडौं । भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनपछि सत्ताच्यूत हुन पुगेका एमाले, नेपाली कांग्रेस लगायतका प्रमुख दलहरूमा अहिले नेतृत्व परिवर्तनको तीव्र बहस पनि सुरु भएको छ । ती दलका दोस्रो पुस्ताका नेताहरूले  अहिले वर्तमान नेतृत्वले अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण दबाब बढाईरहँदा ती दलका अध्यक्षहरूले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुनै संकेत भने देखाएका छैनन् । वर्तमान नेतृत्वलाई लिएर चुनावमा जाने हो भने पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने प्रमुख दलका अधिकांश युवा नेताहरूको बुझाई छ । जेन–जी पुस्ताका मनोविज्ञान पुराना राजनीतिक दल र तीनका नेतृत्वले समयमै बुझ्न नसक्दा देशलाई ठुलो क्षति भएको विश्लेषण गर्दै दोस्रो तहका नेताहरूले पार्टी पुनर्गठन र पुर्नसंरचनाका लागि पार्टी नेतृत्वसमक्ष दबाब बढाएका हुन् । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अब नयाँ शिराबाट पार्टीमा पुनर्गठन अभियान चलाउनुपर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विश्राम गराउन लागिपरेका छन् । तर केही दिनअघि बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा उनीहरूले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । 

ad

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक सुरु गर्नासाथ महामन्त्री गगन थापाले कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । 

महामन्त्री थापाले भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनले पनि पार्टीमा रूपान्तरण जरुरी भएको देखाएको भनाइ राखेका थिए । विगतमा भएका गल्ती र कमजोरीलाई स्विकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने र पार्टीको पुनर्गठन गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
उनले नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिने बताएका थिए । हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोक्ने र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गर्न सकिने उनले सुझाएका थिए । 

महामन्त्री थापाले अर्को विकल्पका रूपमा विशेष महाधिवेशनको कुरा राखेका थिए, ‘विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको ३ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौँ र नयाँ नेतृत्व चयन गरौँ ।’

पुरानै क्रियाशील सदस्यताका आधारमा नियमित महाधिवेशन गर्न सकिने वा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गरेर विशेष महाधिवेशन गर्न सकिने उनको प्रस्ताव थियो । थापाको प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाएका थिए । सभापतिनिकटका नेताहरूले देउवा दम्पती घाइते रहेको अवस्थामा विशेष महाधिवेशनका कुरा गर्न नहुने भनाइ राखेका थिए । बरु प्रतिनिधि सभा विघटन भएकोले त्यसको डटेर विरोध गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
लगत्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले कांग्रेसमा एकता आवश्यक भएको र शीर्ष नेताको तेजोबध हुने गरी अघि बढ्न नहुने तर्क राखेका थिए ।  सिटौलाले संसद् पुनस्र्थापनाकै एजेन्डालाई प्रमुख बनाएर जानुपर्ने कुरा राखेका थिए । 

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बहुसंख्यक नेताहरूले फागुन २१ को चुनावमा पार्टी होमिनुपर्ने कुरा राखेका थिए । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, विमलेन्द्र निधि, महेन्द्र यादव लगायत नेताले फागुन २१ को निर्वाचनमा भाग लिनुपर्ने र त्यसका लागि तयारी सुरु गर्नुपर्ने बताएका थिए ।
बैठकको अध्यक्षता गरेका उपसभापति पूर्णबहादुर खड्काले पार्टी १५औँ महाधिवेशनको प्रक्रियामा अघि बढिसकेको भन्दै यस विषयमा केन्द्रीय कार्यसमितिमै छलफल गर्नुपर्ने धारणा राखेका थिए । 

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीद्वयको प्रस्तावमा प्रतिवाद गर्दै अहिलेको प्रमुख कार्य संविधानवाद बचाउनतर्फ पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताएका थिए । जेन–जी आन्दोलनको क्रममा सभापति देउवा दम्पतीमाथि आक्रमण भएपछि उपचारको क्रममा अस्पतालमा रहेका उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ । देउवाको स्वास्थ्य अवस्था ठीक भएपछि केन्द्रीय समिति बैठक बोलाइने र यसबारे थप छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् । 

पार्टीमा विशेष महाधिवेशनको माग भइरहेका बेला नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले यसको पक्षमा आफूलाई उभ्याएको छ भने भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघले पनि अहिलेको समस्या समाधान विशेष महाधिवेशनबाट गर्नु पर्नेमा जोड दिएको छ ।