
काठमाडौं । नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले संविधान दिवस मनाएको छ । पार्टीको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी संघले यो दिवस मनाएको हो ।
देशका अधिकांश ठाउँमा दीप प्रज्वलन गरिएको संघका महासचिव दीपक गुरुङले जानकारी दिए । संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको थियो ।

यो १० वर्षको अवधिमा संविधान संशोधनको आवश्यकता महशुस गरिएको देशभर आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । काठमाडौंको नागपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले संविधानले अहिले पनि सबैका भावना समेट्नका लागि संशोधन आवश्यक रहेको बताए । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनबाट देशमा क्षति पुगेको भन्दै युवाहरुले सार्वजनिक सम्पत्ति नष्ट गर्ने कुरा आफूले कल्पना पनि नगरेको बताउँदै उक्त घटनाको छानविन हुनु पर्नेमा जोड दिए ।
नयाँ सरकारले संविधान जोगाउँदै आगामी फागुन २१ गते तोकेको निर्वाचनका लागि नेपाली कांग्रेस तयार रहेको पनि बताए । विगतका तिता कुराहरु विर्सिएर एक भएर चुनावमा जाँदा कांग्रेस फेरि पनि पहिलो र ठूलो शक्ति बन्न कसैले नरोक्ने भन्दै देशलाई निकास दिनका लागि नेपाली कांग्रेस नै आवश्यक पर्ने बताए ।

यसैगरी, केन्द्रीय सदस्य राधा घलेले जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै त्यसको छानविन गर्न माग गरिन् । त्यस्तै, राजु श्रेष्ठ, लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले पनि धारणा राखेका थिए । सो अवसरमा दीप प्रज्वल गर्नुका साथै सम्पूर्ण शहीदप्रति एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

उता, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले पोखरामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संविधानले सबै क्षेत्रलाई समेटेको बताउँदै अब हुने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउने अभियानमा सबै युवा र खेलाडीहरु लाग्नु पर्ने बताए ।








Facebook Comments