एसिया कप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको शानदार जीत दर्ता गरेको छ । समूह बीमा शतप्रतिशत जित निकाल्दै श्रीलंकाले सुपर फोरमा स्थान पनि पक्का गरेको हो । अफगानिस्तानले दिएको १७० रनको लक्ष्य श्रीलंकाले ४ विकेट गुमाएर ८ बल बाँकी हुँदा पूरा गरेको थियो । श्रीलंकाको जीतमा कुशल मेन्डिसको ७४ रनको अविजित पारि महत्वपूर्ण रह्यो ।

कुशल मेन्डिसले ५२ बलमा अविजित ७४ रन बनाएका थिए । उनले स्वीप र पुल सटहरूको उत्कृष्ट प्रयोग गर्दै अफगानिस्तानका स्पिनरहरूको सामना गरे ।  

ad

यसैगरी, कुशल परेराले २८ रन बनाउँदा कामेन्दु मेन्डिसले २६ रनको नटआउट पारि खेले । 

पाथुम निस्सन्का र कमिल मिश्रा चाँडै आउट भएपछि श्रीलंका दबाबमा आएको थियो। तर कुशलले रन बनाउने जिम्मेवारी लिए र मध्य ओभरमा लगातार बाउन्ड्री प्रहार गर्दै टोलीलाई लक्ष्यमा कायम राखे।

तर पनि, अन्तिम पाँच ओभरमा ४८ रन आवश्यक पर्दा दबाब कायम नै थियो । त्यसबेला कुशललाई अर्का मेन्डिस कामिन्दुले साथ दिए ।

कामिन्दुले नूर अहमद र फजलहक फारुकीविरुद्ध एक–एक छक्का प्रहार गर्दै कुशलमाथिको दबाब कम गरे। कामिन्दु १३ बलमा अविजित २६ रन बनाएर फर्किए। यसले कुशललाई अन्तिम ओभरमा समेत दबाबमा आउन दिएन र श्रीलंकाले सजिलै लक्ष्य हासिल गर्‍यो ।

त्यसअघि मोहम्मद नाबीले २२ बलमा ६० रन बनाउँदै अफगानिस्तानको इनिङ्सलाई माथि उकासेका थिए । उनले अन्तिम ओभरमा लेफ्ट–आर्म स्पिनर दुनिथ वेलालागेविरुद्ध पाँच छक्का प्रहार गरे । दुसमंथा चमीराले आफ्नो अन्तिम ओभरमा १७ रन दिएका थिए । यसरी अफगानिस्तानले अन्तिम दुई ओभरमा ४९ रन बटुलेर आफ्नो कुल योगफल ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । 

श्रीलंकाका नुवान थुशाराले उत्कृष्ट प्रदर्शन गर्दै १८ रन खर्चेर ४ विकेट लिएका थिए ।  

यससँगै एसियाकपको सुपर फोरमा पुग्ने सबै टिमको टुंगो लागेको छ । समूह ए बाट भारत र पाकिस्तान पुग्दा समूह बीबाट श्रीलंका र बंगलादेश पुगेका छन् ।