
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टी र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका छन्। जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले पार्टी सचिवालय बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको उनले बताए ।
‘जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, मुलुकको रूपान्तरणकारी नीति–कार्यक्रमका आधारमा राजनीतिलाई अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन आजको पहिलो सर्त अहिलेका पार्टीहरूको पुनर्गठन हो,’ उनले प्रस्ताव अघि सार्दै भनेका छन्, ‘नीति र नेतृत्वको पुनर्गठन हो। नेता र पार्टीहरुले समयको पदचाप सुन्न र बुझ्न नसक्दा राष्ट्रहरूले ठूल्ठूला धक्का खाएका छन्। हामी आफै पनि त्यसका भुक्तभोगी हौँ ।’
उनले मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको पनि निचोड निकालेको छन्। यसर्थ देशका सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव नरहेको उनको भनाइ छ।
‘यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं। यो मुख्य विषयलाई गलैंचामुनी राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौं भने दुनियाँले हामीलाई दुत्कार्ने छ,’ उनले प्रस्तावमा भनेका छन्, ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरू त्थानमा हाम्रा एजेण्डा भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ।’
त्यस्तो राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता आफ्नो पार्टीमा रहेको उनले दाबी गरे । उनले भनेका छन्, ‘हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔं। भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ ।’
यस्तो छ उनको प्रस्ताव









Facebook Comments