काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन र चिनियाँ राजदूत चेन सङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ad

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । 

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिनियाँ आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताइन् । 
     
सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए । 

प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । 
     
चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै उनले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताए ।