
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालका लागि आफूले संविधान जोगाएको र अब दलहरु चुनावका लागि तयार हुनुपर्ने बताएका छन् ।
आज नागरिक अगुवाहरुसँगको भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनले सिर्जना गरेको असहज परिस्थितिमा देशलाई निकास दिंदा संविधानमा केही तल माथि भए पनि अब त्यस्तो नहुने स्पष्ट पारेको भेटमा सहभागी नागरिक अगुवाहरुले बताएका छन् ।
राष्ट्रपति पौडेलले सरकारलाई संविधानविरोधी कदम अगाडि बढाउन नदिनेमा नागरिक अगुवाहरुलाई आश्वस्त समेत पारेका थिए । भेटमा नागरिक अगुवाहरूले ‘संविधानको थप क्षति नहोस् भन्नेमा राष्ट्रपति सचेत बन्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले ‘राजनीतिक दलको भूमिका खुम्च्याउने र प्रतिशोध साँध्ने काम हुन नदिन पनि राष्ट्रपति पौडेललाई सुझाएका थिए ।
नागरिक समाजका अगुवाहरुले राष्ट्रपति पौडेललाई विभिन्न ४ बुँदे सुझाव दिएका छन्। सुझावमा भनिएको छ– प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिनु संविधानसम्मत नभएको र यो कदमले अन्तरिम सरकार र दलहरुबीच दूरी बढाएको मात्र होइन, संविधानको रक्षामा उभिएका पेसागत संघसंस्थाहरुको आस्थामा पनि आघात पुगेको छ भन्ने हाम्रो मान्यता छ। जे जस्तो परिस्थितिमा पनि चुनावको मिति समेत निर्धारित भइसकेको अवस्थामा संविधानका केही धारामा लागेको यो ग्रहण अस्थायी होस् भन्ने हामो चाहना र कामना छ ।
राजनीतिक दल, जेनजी आन्दोलनकारी र नागरिक समाज सबैले चुनाव सम्पन्न गर्न सहयोग गर्दै संवैधानिक व्यवस्थालाई यथावतरुपमा क्रियाशील गराउन भूमिका खेल्न राष्ट्रपतिलाई नागरिक समाजले सुझाव दिएको छ ।




Facebook Comments