
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र आमूल सुधारको आवश्यकता रहेको उल्लेख गर्दै आफू महामन्त्री पद छोड्न तयार रहेको घोषणा गरेका छन्।
थापाले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रस्तावमा भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिलाई स्वीकार्दै समयमै निर्वाचन सम्पन्न गराउनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
"अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले अब तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं," थापाले लेखेका छन्।
थापाले आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै त्यसबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन्। साथै, आन्दोलनपश्चात भएको तोडफोड र आगजनीका दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
पुनर्निर्माण र सेवा प्रवाहमा जोड
संघ, प्रदेश र स्थानीय सरकारका संरचनालाई सुरक्षित राख्दै नागरिक सेवामा असर नपर्ने गरी तत्काल पुनर्निर्माण र व्यवस्थापन सुरु गर्नुपर्ने थापाको धारणा छ।
थापाले कांग्रेस पार्टीभित्र सदस्यता, संगठन संरचना, र नेतृत्व छनोट प्रक्रियामा आमूल सुधार आवश्यक रहेको उल्लेख गरेका छन्। उनले भने, "पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। आवश्यक परे म महामन्त्री पदबाट राजीनामा दिन पनि तयार छु।"
आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदान खेर जान नदिने प्रतिज्ञा गर्दै थापाले भ्रष्टाचारमुक्त र जनमुखी राजनीति अघि बढाउने संकल्प व्यक्त गरेका छन्।
आक्रमणको निन्दा, घाइतेप्रति सहानुभूति
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत नेताहरू र पार्टी कार्यालयमाथि भएको आक्रमणको घोर निन्दा गरेका छन्। साथै, आक्रमणमा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।









Facebook Comments