चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही भदौ २३ गते सरकारले ‘जेनजी’ आन्दोलनमा गरेको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । डा. केसीले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, “उक्त दुःखद घटनाबाट म मर्माहत भएको छु र सोको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु ।”

ad

नवयुवाले जायज माग राख्दै गरेको विरोध प्रदर्शनमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बढीको मृत्यु हुनु सरकारलगायत सम्पूर्ण राजनीतिक नेतृत्वको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य भएको उनले बताएका छन् ।

“युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो,” डा. केसीले भनेका छन् ।

उक्त घटनापश्चात् मुलुकभरि नै गरिएका आगजनी, तोडफोड, लुटपाट र हिंसाजस्ता विध्वंसात्मक घटनाले सबैको शिर लाजले निहुरिएको उनले जनाएका छन् । “निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु,” उनले भनेका छन् ।

देशमा विधिको शासन स्थापित गर्ने पवित्र उद्देश्यले गरिएको नवयुवाको आन्दोलनलाई राजनीतिकलगायत विभिन्न गलत तत्त्वबाट निहित स्वार्थका निम्ति बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण भएको उनले जनाएका छन् ।

“देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नवयुवापुस्ताका नागरिक अधिकारका लागि स्वतःस्फूर्त रूपमा उठेका आवाजप्रति हाम्रो पूर्ण समानुभूति र ऐक्यबद्धता छ,” डा. केसीले भनेका छन् ।

आन्दोलनमा सहभागी नवयुवापुस्ताका प्रतिनिधिसहितको अन्तरिम सरकारले मात्र आन्दोलनको मर्मअनुरूप कार्य गर्न सक्ने उनले उल्लेख गरेका छन् ।

“लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएको दायित्व इमानदारीपूर्वक तोकिएको समयावधिभित्र आन्दोलनको मर्मअनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु,” डा. केसीले भनेका छन् ।

अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र हस्तक्षेप नहुने तथा दायित्व पूरा हुनेबित्तिकै ब्यारेक फर्कने अपेक्षा आफूले गरेको उनले जनाएका छन् ।

प्रेस विज्ञप्ति

विगत लामो समयदेखि पूर्ण दण्डहीनताका साथ राजनीतिको चरम भ्रष्टिकरण,अपराधीकरण र स्वेच्छाचारीकरणबाट सिर्जित बेथिति, आर्थिक असमानता, बेरोजगारी र गरिबीले पिसिएका साथै सबै सुबिधा तथा अवसरबाट बञ्चित नव-युवाहरूले जायज माग राख्दै गरेक‍ो विरोध प्रदर्शनीमा गोली प्रहारबाट करिब दुई दर्जनभन्दा बेसीको मृत्यु हुनु सरकार लगायत सम्पूर्ण राजनीतिक नेतृत्व पक्षको गैरलोकतान्त्रिक, अमानवीय, लज्जाजनक र गैरजिम्मेवारपूर्ण कार्य हो। उक्त दु:खद् घटनाबाट म मर्माहत भएको छु र स‍ोको घोर भत्सर्ना गर्दै निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दछु । युवाहरूको सो आवाज सरकार र संलग्न दललाई मात्र नभएर विगतमा सरकार चलाएका तथा सहभागी भएका विपक्षी राजनीतिक दललगायत सबै राजनीतिक दल तथा नेताहरूलाई पनि लक्षित थियो भन्ने सबैले स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो।

उक्त घटना पश्चात् मुलुकभरि नै भएका आगजनी, तोडफोड, लुटपाट र हिंसा जस्ता विध्वंसात्मक घटनाले हामी सबैको शिर लाजले निहुरिएको छ। निष्पक्ष छानबिन गरी सो घटनामा संलग्न पक्ष तथा व्यक्तिहरूलाई उपयुक्त कारबाही गर्न माग गर्दछु। देशमा विधिको शासन स्थापित गर्ने पवित्र उदेश्यले गरिएको नव युवाको यो आन्दोलनलाई राजनीतिक लगायत विभिन्न गलत तत्वहरूबाट निहित स्वार्थका लागि बदनाम गर्न खोज्नु र मुलुकलाई अराजकता र अस्थिरतातिर धकेल्नु दुर्भाग्यपूर्ण कुरा ह‍ो। देशमा व्याप्त बेथितीको मारले विक्षिप्त नव-युवापुस्ताका नागरिक अधिकारका लागि स्वत: स्फूर्त रूपमा उठेका आवाजप्रति हाम्रो पूर्ण समानुभूति र ऐक्यबद्धता छ।

अहिलेको तरल अवस्थाबाट देशलाई निकास दिन अन्तरिम सरकार गठनको आवश्यकता रहेकाले गैर राजनीतिज्ञ, स्वच्छ छवि भएका, अनुभवी, इमानदार, सक्षम, स्वतन्त्र र आफ्नो क्षेत्रमा योगदान पुऱ्याएका र आन्दोलनकारीहरूको विश्वास जित्न सक्ने योग्य व्यक्तिहरूमध्येबाट चयन गर्नुपर्ने परिस्थितिमा पूर्व प्रधानन्यायाधीशदेखि पूर्व प्रशाशक/व्यवस्थापक, मेयर र चिकित्सक लगायतका चिरपरिचित अनुहारहरूको नाम चर्चामा आइरहेको छ। आन्दोलनमा सहभागी नव-युवा पुस्ताका प्रतिनिधि सहितको माथि उल्लिखित व्यक्तित्वहरूको नेतृत्वको अन्तरिम सरकारले मात्र आन्दोलनका मर्म अनुरूप कार्य गर्न सक्छ भन्ने हाम्रो धारणा छ। त्यस्तै केही राजनितिज्ञ र लामो समयदेखि आपराधिक तथा अराजक पृष्ठभूमिका व्यक्ति चयनकर्ता पक्षलाई बारम्बार प्रभावित गर्ने प्रयासमा छन् भन्ने सुन्न तथा देख्नमा आएकोले त्यस्तालाई निरुत्साहित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछु। साथै ल‍ोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी मानी चयनको क्रममा रहेको भावी अन्तरिम सरकारले देश र जनताले दिएक‍ो दायित्व इमानदारीपूर्वक त‍ोकिएक‍ो समयावधिभित्र आन्दोलनको मर्म अनुरूप सफलतापूर्वक सम्पन्न गर्नेे अपेक्षा गरेको छु। त्यस्तै अन्तरिम सरकारमा सेनाको कुनै पनि प्रतिनिधि नरहने र हस्तक्षेप नहुने र दायित्व पूरा हुने बित्तिकै सेना व्यारेक फर्कने अपेक्षा पनि गरेको छु। ढीलै भए पनि स्थितिलाई नियन्त्रणमा लिन सफल नेपाल सेनालगायतका निकाय धन्यवादका पात्र हुन्।

तसर्थ, यस घडीमा मुलुकले हामी सबैबाट इमानदारीपूर्ण नागरिक कर्तव्य र दायित्व निर्वाहको अपेक्षा गर्दछ ।

प्रा. डा.गोविन्द केसी ।
काठमाडौं,
२७/०५/२०८२।