काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले देशभर भएको दुःखद मृत्यु, बढ्दो तनाव र बढ्दो हिंसाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा मौलिक स्वतन्त्रताहरूको प्रयोग गर्न र हिंसाबाट टाढा रहन आह्वान गरेको छ ।

"अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच र शान्तिपूर्ण भेला, नेपाली र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत संरक्षित मौलिक अधिकार हुन् । हामी सबै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा यी मौलिक स्वतन्त्रताहरूको प्रयोग गर्न र हिंसाबाट टाढा रहन आह्वान गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

ad

अत्यधिक बल प्रयोगका सबै आरोपहरूको स्वतन्त्र, पारदर्शी र निष्पक्ष रूपमा तुरुन्तै अनुसन्धान गर्नुुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

"देशका युवाहरूलगायत नागरिकहरूको चिन्तालाई सम्बोधन गर्ने उत्तम माध्यम संवाद नै हो," विज्ञप्तिमा भनिएको छ, "युवा नेपालीहरूको आवाज स्पष्ट र चर्को स्वरमा सुनिएको छ र उठाइएका मुद्दाहरूको मूल कारणहरूलाई सम्बोधन गर्न र युवा नेपालीहरूको समृद्ध भविष्य सुनिश्चित गर्न ठोस कदम चाल्दा नेपाललाई फाइदा हुनेछ ।"

समृद्ध नेपालको शान्तिपूर्ण समाधानमा योगदान पुर्‍याउन र तनाव कम गर्न मद्दत गर्ने, संवाद र विश्वास निर्माणका उपायहरूलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको उल्लेख छ ।