काठमाडौं । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीनजनाको मृत्यु भएको छभने एक सयजनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

ad

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुईजना घाइतेको उपचार भइरहेको र तीनजनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । आठजनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारजनाको उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुईजनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एकजनाको मृत्यु भइसकेको जनाएको छ ।

काठमाडौं उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना, विराट मेडिकल कलेजमा चारजना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजनाको मृत्यु भएको छ ।