
काठमाडौं । कुनै पनि क्षेत्रमा स्वतन्त्र पेशाकर्मी (फ्रिलान्सर) भएर काम गरिरहेकाहरुका लागि सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले उच्च ब्याजदर र आकर्षक बिमा सुविधासहित फ्रिलान्सर बचत खाता सञ्चालनमा ल्याएको छ ।
सन् २०२२ को एक तथ्याङ्क अनुसार नेपालमा स्वतन्त्र पेशाकर्मी भएर ६६ हजारभन्दा बढीले काम गरिरहेको पाइएपछि बैंकले उनीहरुलाई समेट्नका लागि फ्रिलान्सर सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको हो । टिकटक, यूट्यूब लगायत सामाजिक सञ्जाल, पठाओ, इनड्राइभ, टूटल, ट्याक्सीमाण्डु, ईन्ड्राइभ र विभिन्न आईटी कम्पनीमा फ्रिल्यान्सर भएर काम गरी आम्दानी गर्नेहरूका लागि नेपाली रुपैयाँ र डलर दुईटा मुद्रामा खाता खोल्न मिल्ने गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापाले बताए । यसले सिटिजन्स बैंकलाई फ्रिलान्सरको दुःख–सुखमा साथ दिने साथीका रूपमा प्रस्तुत गरेको थापाले जानकारी दिए ।
अन्य वचत खातामा भन्दा फ्रिलान्सर वचत खातामा ब्याजदर उच्च तोकिएको छ । यस खातामा बैंकले नेपाली रुपैयाँ खातामा ४.५ प्रतिशत तथा अमेरिकी डलर खातामा ३.७५ प्रतिशत ब्याजदर दिनेछ ।
सरकारी मापदण्डअनुसार ५ प्रतिशत टिडिएस काट्नुपर्ने व्यवस्था रहेकामा त्यो सुविधा पनि अहिले बैंकले नै तिरिदिने व्यवस्था गरेको छ । यस्तै विदेशबाट प्राप्त गरिने रकममा लाग्ने ५ प्रतिशत कर पनि बैंक आफैँले तिरिदिनेछ ।
फ्रिलान्सर सेभिङ एकाउन्टमा नेपाली रुपैयाँ खातामा न्यूनतम ब्यालेन्स ५०० रुपैयाँ र अमेरिकी डलर खातामा न्यूनतम १० डलर अनिवार्य हुने बैंकले जनाएको छ । त्यस्तै, खातावालाले डलर सटही गर्दा १० पैसा बराबरको थप लाभ प्राप्त गर्नेछन् भने डलर ट्राभल कार्ड र इ–कम कार्ड जारी गर्दा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् । यो खाता खोल्दा खातावालाले मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिम्याट खाता, खाता विवरण र चेकबुक निःशुल्क प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
यो खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र र फ्रिलान्सरको घोषणापत्र ल्याउनुपर्ने र डलर आम्दानीका लागि राष्ट्र बैंकले स्रोत खोज्ने भएकाले सम्बन्धित कम्पनीसँगको सम्झौतापत्र समेत ल्याउनुपर्ने बैंकले जनाएको छ ।
फ्रिल्यान्सर सेभिङ अकाउन्ट खोल्ने ग्राहकले रिकरिङ डिपोजिटको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यो खाता खोल्दा ग्राहकले चाहेको खण्डमा आफ्नो बचतबाट केही प्रतिशत रकम रिकरिङ डिपोजिटमा जम्मा गरिदिने बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापाले बताए । बैंकले यो खाता सञ्चालनमा ल्याएपछि फ्रिलान्सरहरुको रोजाईमा परिरहेको पनि उनले जानकारी दिए । यस्तै फ्रिलान्सरहरुलाई थप आकर्षित गर्नको लागि यस खातामा आकर्षक बिमा सुविधा समावेश गरिएको छ । खाता खोल्ने फ्रिलान्सरले २५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्ने पनि बैंकले जनाएको छ । बैंकका अनुसार बचतकर्ताले २५ हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा (अस्पताल भर्ना भएमा) र ३ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् ।








Facebook Comments