भक्तपुर । भक्तपुर, काभ्रे र ललितपुर जिल्लाको संगमस्थल रानीकोट हुँदै काभ्रेको पनौती जाने सडकमा निरन्तर पहिरो गैरहँदा आवतजावतमा समस्या उत्पन्न भएको छ । बर्षेनी स्थानीय वासिन्दाहरुले बर्षात्को समयमा आवतजावतमा समस्या भोगिरहँदा पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

ad

रानीकोट राम्रो सम्भावना भएको पर्यटकीय स्थल हो । यसैगरी काभ्रेको पनौती जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । बर्षात्का कारण पहिरो जाँदा सडक बिग्रेका कारण आवत जावतमा कठिनाई परेको छ । बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरुलाई तरकारी, दुध बिक्रीका लागि बजारसम्म पु¥याउन निकै सास्ती खेप्नु परिरहेको छ । स्थानीय बासिन्दाहरुका अनुसार साना सवारी साधन र मोटरसाइकल पार गर्न पनि हम्मे हम्मे छ ।

स्थानीय बासिन्दाहरुले बर्षात्को समयमा बर्षेनी सास्ती बेहोर्नु परे पनि संघीय, स्थानीय तथा प्रदेश सरकारले यसतर्फ ध्यान दिन सकेको छैन । स्थानीय बासिन्दाहरुले पटक पटक पहिरो नियन्त्रणका साथै बाटो निर्माणका लागि स्थानीय सरकार गुहार्ने गरे पनि हालसम्म सुनुवाई भएको छैन । पछिल्लो पटक सुर्यविनायक नगरपालिका वडा नम्बर ८ ले पहिरोले सडक अवरुद्ध भएपछि माटो पन्छाउन स्थानीय बासिन्दाहरुको आग्रह अनुसार डोजर पठाएको स्थानीय बासिन्दाहरुले बताए । स्थानीय पर्यटन व्यवसायी रामसुन्दर बकेले पटक पटक व्यक्तिगत खर्चमा डोजर प्रयोग गरेर पहिरो पन्छाउँदै आएका छन् ।

स्थानीय बासिन्दाहरुले पनि बाटो बनाउन र पहिरो पन्छाउन सहयोग गर्दै आएका छन् । यसको दीर्घकालीन समाधानको लागि स्थानीय पालिकाहरु,प्रदेश सरकार र संघीय सरकारको चासो हुनुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन् । करिब दुई किलोमिटर जति सडकमा पहिरो रोकथाम र नाला निर्माण गर्ने भने स्थानीय बासिन्दाहरुलाई आउजाउमा सहजता आउने उनीहरुको भनाई छ । रानीकोट आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न पुगेको छ ।

प्रकृतिप्रेमी आन्तरिक पर्यटकहरुका लागि रानीकोट नयाँ गन्तव्यको रुपमा परिचित हुँदै गएको छ । सडक तथा पूर्वाधारको विकाससँगै पर्यटकीय आकर्षणको केन्द्र बनाउन संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान पुग्नु जरुरी छ । यस क्षेत्रमा पर्यटकीय सम्भावना धेरै छ । सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मको बाटो कालोपत्रे भईसकेको छ त्यसमाथि रानीकोटसम्म ग्राभेल गरिएको मोटरबाटो छ । तर केही क्षेत्रमा बर्षात्को समयमा पहिरो जाने, बाटो बिग्रने गरेका कारण बर्षेनी स्थानीय बासिन्दाहरु, पर्यटन व्यवसायीहरु समस्यामा परेका छन ।

रानीकोट प्राकृतिक रुपले सुन्दर, ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र भएकाले यसको सडक पूर्वाधार विकासमा सरकारको ध्यान पुग्नु जरुरी भएको पर्यटन व्यवसायी रामसुन्दर बके बताउँछन् । रानीकोटको ऐतिहासिक पक्षको गहन रुपमा अध्ययन आवश्यक छ । यस क्षेत्रमा रहेका ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण र पुनर्निमाणमा सम्बन्धित निकायको ध्यान पुग्नु पनि जरुरी रहेको उनको भनाई छ ।