
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि पार्टीका दुई उपाध्यक्षले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन भन्ने निर्णयमा राखेको फरक मत भोलि बस्ने सचिवालय बैठकमा छलफल हुने बताएका हुन् ।
उनले केन्द्रीय समितिको निर्णयमाथिको फरक मतमा विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने कुरा सचिवालयमा टुंगो लाग्ने बताए। निर्णय र दस्ताबेजमाथिको फरक मतमा भिन्नता हुने भन्दै फरक मतमाथिको छलफल गर्ने आफ्नै विधि रहेको महासचिव पोखरेलको भनाई थियो ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले स्थायी कमिटी सदस्य कर्ण थापाले विधानमाथि असहमति जनाएको भन्दै त्यसबारेपनि सचिवालयले कसरी सम्बोधन गर्ने भनेर छलफल हुनसक्ने बताए । एमालेको सचिवालय बैठक भोलि दिउँसो ३ बजे बोलाइएको छ।










Facebook Comments