
काठमाडौं । नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधिको सुरुआत गर्ने प्रख्यात नेपाली इन्जिनियर वेदप्रसाद लोहनीको १११औं जन्मजयन्तीको अवसरमा मंगलबार पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको लाइब्रेरी हलमा आयोजित भव्य समारोहमा रविन थापालाई वेदप्रसाद लोहनी स्वर्ण पदकबाट पुरस्कृत गरिएको छ। थापाले २०८० मा एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंक प्राप्त गरेका थिए।
यो प्रतिष्ठित पुरस्कार प्रमुख अतिथि तथा इन्जिनियरिङ अध्ययन संस्थानका निवर्तमान डिन प्रा. डा. विनोदकुमार भट्टराईले थापालाई स्वर्ण पदक र ५० हजार नगदसहित प्रदान गरे।
समारोहमा वेदप्रसादका जेठा छोरा तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, क्याम्पस प्रमुख सहप्राध्यापक डा. सञ्जय उप्रेती, विभागीय प्रमुख रामकृष्ण रेग्मी, सहप्राध्यापक डा. हरिराम पराजुली, प्राध्यापक भरत शर्मा, र वेदप्रसादकी कान्छी बुहारी प्राध्यापक डा. उषा लोहनीलगायतको उपस्थिति रहेको थियो।
पुरस्कार ग्रहणपछि रविन थापाले भने, “यो सम्मानले मलाई थप हौसला प्रदान गरेको छ। आफ्ना गुरुहरूको अगाडि यो पुरस्कार प्राप्त गर्न पाउनु मेरो लागि गौरवको कुरा हो।” उनले यो उपलब्धिलाई आफ्नो करियरको महत्वपूर्ण कोसेढुंगाको रूपमा लिएको बताए।
कार्यक्रमको सुरुवातमा क्याम्पस प्रमुख डा. सञ्जय उप्रेतीले वेदप्रसाद लोहनीको बहुआयामिक व्यक्तित्व र इन्जिनियरिङ क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे। २०६० सालमा यो पुरस्कार प्राप्त गरेका सहप्राध्यापक डा. हरिराम पराजुलीले वेदप्रसादको स्ट्रक्चरल र आर्किटेक्चरल डिजाइनको प्रशंसा गर्दै भने, “वेदप्रसादको स्ट्रक्चरल डिजाइन मात्र होइन, उनको आर्किटेक्चरल डिजाइन पनि उत्तिकै सशक्त छ। यो पदक मेरो लागि ठूलो गौरव हो।”
प्राध्यापक भरत शर्माले वेदप्रसादलाई “जिनियस” को संज्ञा दिंदै उनको योगदानलाई देशले अझै पूर्ण रूपमा चिन्न नसकेको बताए। वेदप्रसादकी बुहारी डा. उषा लोहनीले आफ्ना ससुराको प्रेरणादायी व्यक्तित्वको चर्चा गर्दै भने, “उहाँ हरेस नखाने र आफ्नो मुलुकमा केही गर्नुपर्छ भन्ने विश्वास बोकेका व्यक्ति हुनुहुन्थ्यो।”
वेदप्रसाद लोहनीको १११औं जन्मजयन्ती (१९७२ भदौ १७, सेप्टेम्बर २, १९१५) को अवसरमा डा. प्रकाशचन्द्र लोहनीले आफ्ना पिताको बहुआयामिक व्यक्तित्वबारे उल्लेख गरे:
१. इन्जिनियरिङ शिक्षाको सुरुआत: सन् १९४२ मा वसन्तपुरको कुमारी घरमा नेपालको पहिलो इन्जिनियरिङ स्कूल स्थापना गर्ने दुई संस्थापकमध्ये एक। यो स्कूल नै पछि इन्जिनियरिङ अध्ययन संस्थान (आनन्द भवन) मा रूपान्तरित भयो।
२. सिमेन्ट ढलान प्रविधिको सुरुआत: २००२ सालमा रानीपोखरीको ‘सरस्वती सदन’ निर्माण गरी नेपालमा सिमेन्ट ढलान युगको थालनी।
३. ज्यामितिको पुस्तक लेखन: ‘क्रियात्मक शिल्प - ज्यामिति परिचय’ नामक पुस्तक लेख्ने पहिलो नेपाली, जुन २००५ सालमा प्रकाशित भएको थियो।
४. पानी फिल्ट्रेसन प्लान्ट: बालाजुमा नेपालको पहिलो पानी फिल्ट्रेसन प्लान्टको सुरुआत।
५. सडक निर्माण: भोटाहिटी–बागबजार खण्डमा नेपालको पहिलो सिमेन्ट ढलान सडक निर्माण।
६. सिमेन्ट उद्योगको योजना: हेटौंडामा सिमेन्ट फ्याक्ट्री स्थापनाको लागि २००६ सालमा ६ लाख रुपैयाँ अमेरिकाको एलिस चेम्बर कम्पनीलाई एड्भान्स पठाएर योजना अघि बढाएका।
७. राष्ट्रिय योजना आयोग: सन् १९४८ मा श्री ३ मोहन शमशेरको अध्यक्षतामा गठित नेपालको पहिलो राष्ट्रिय आर्थिक योजना समितिको सदस्य।
८. प्रशासकीय योगदान: राजा महेन्द्रको पूर्व र पश्चिम भ्रमणमा कार्यपालिकाको सचिवको रूपमा घोडामा बाटोघाटो नभएको अवस्थामा सहभागी।
९. हुलाक सेवामा योगदान: नेपाललाई युनिभर्सल पोस्टल युनियनको सदस्यता दिलाउन महत्वपूर्ण भूमिका।
१०. आध्यात्मिक चिन्तक: स्वअध्ययनमा रुचि राख्ने, चतुर्मासमा देवघाट र बुढानीलकण्ठमा श्रीमद्भागवत पुराण सुनाउने।
११. स्वर्ण पदकको स्थापना: २०५९ सालमा ८७ वर्षको उमेरमा देहान्त हुनुअघि यो स्वर्ण पदक स्थापना।
वेदप्रसाद लोहनी स्वर्ण पदक प्रत्येक वर्ष स्ट्रक्चरल इन्जिनियरिङमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रदान गरिन्छ।
यो पुरस्कारले विद्यार्थीहरूलाई प्राविधिक उत्कृष्टता र नवप्रवर्तनमा प्रेरित गर्ने लक्ष्य राख्छ। कार्यक्रममा सहभागी वक्ताहरूले वेदप्रसादको दूरदृष्टि र योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई उनको प्रेरणाबाट सिक्न आह्वान गरे।









Facebook Comments