काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

श्रेष्ठले सामाजिक सञ्जालमा अदालतका विरुद्ध लेखेको भन्दै कानुनका विद्यार्थी आयुष दाहालले सोमबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। मोरङ स्थायी घर भएका दाहालले श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्टबाट अदालतको अवहेलना भएको जिकिरसहित निवेदन दर्ता गराएका थिए ।

ad

श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी गरेका थिए । ‘अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन’, श्रेष्ठले लेखेका थिए।


उक्त मुद्दामा बहस गर्दै अधिवक्ता अर्जुनबहादुर खड्काले माओवादी नेता श्रेष्ठले दिएको अभिव्यक्ति कारबाहीयोग्य भएको बताउँदै कारबाही हुनुपर्ने जिकिर गरेका थिए ।