स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अंक बाँडेको छ । पहिले गोल गरेपनि अग्रता जोगाउन नसक्दा महत्वपूर्ण २ अंक गुमाउन पुग्यो । आइतबार राति रायो भालेकानोसँग एक एक गोलको बराबरी खेल्दै बार्सिलोनाले एक अंकमा चित्त बुझाएको हो ।

लामिन यामालले पहिलो हाफको ४० औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाएका थिए, तर रायोका फ्रान पेरेजले ६७ औं मिनेटमा गोल गर्दै अंक बाँडे ।

ad

खेलको सुरुवातमा बार्सिलोनाले बलियो प्रदर्शन गरेको थियो। यामालले पेनाल्टीबाट गोल गर्नुअघि राफिन्हाले गोल गर्ने अवसर गुमाएका थिए । तर, रायोको प्रत्यक्ष र आक्रामक खेलले बार्सिलोनालाई धेरै पटक समस्यामा पारेको थियो । रायोका आन्द्रेई रातिउले १२औँ मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएका थिए, तर बार्सिलोनाका गोलकिपर जोन गार्सियाले उत्कृष्ट बचाउ गरे । गार्सियाले इसी पालाजोन र लुइज फेलिपेको प्रयासलाई पनि विफल पारेका थिए ।

पहिलो हाफको अन्त्यतिर पेप चाभारियाले यामाललाई फल गरेपछि पेनाल्टी दिइएको थियो । तर भिएआर प्रविधिले काम नगर्दा निर्णय जाँच गर्न सकिएन । यामालले पेनाल्टीमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए ।

दोस्रो हाफमा रायोले ६७औँ मिनेटमा पालाजोनको कर्नरमा पेरेजले उत्कृष्ट भली प्रहार गर्दै बराबरी गोल फर्कायो । बार्सिलोनाले मार्कस र्‍याशफोर्ड र फर्मिन लोपेजलाई मैदानमा ल्याएर खेल जित्ने प्रयास गरे पनि गार्सियाको उत्कृष्ट प्रदर्शनले रायोलाई अग्रता लिनबाट रोक्यो ।

यो बराबरीसँगै बार्सिलोनाले ला लिगामा पहिलो अंक गुमाएको छ । अहिले तालिकाको चौथो स्थानमा छ ।