
नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छिन्। काठमाडौंमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गंगाले यो प्रतिष्ठित उपाधि हात पारेकी हुन्।
गंगाले उपाधिसँगै ट्रफी र २५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। उनको प्रस्तुतिले निर्णायकहरू र दर्शकहरूको मन जित्न सफल भएको थियो। सिन्धुपाल्चोककी यी प्रतिभाशाली गायिकाले आफ्नो मधुर स्वर र आत्मविश्वासका साथ यो सिजनको यात्रामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
ग्राण्ड फिनालेमा भारतकी बबिता थापामगर फस्र्ट रनरअप बन्न सफल भइन्। उनले १० लाख रूपैयाँ नगदसहित विभिन्न उपहार प्राप्त गरिन्। त्यस्तै, चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप बन्दै ५ लाख रूपैयाँ नगद र अन्य उपहारहरू हात पारिन्।
‘नेपाल आइडल’ सिजन–६ मा देशभर र छिमेकी मुलुकबाट समेत सहभागी भएका प्रतिस्पर्धीहरूले आफ्नो गायन कला प्रस्तुत गरेका थिए। यो सिजनले गायन प्रतिभाहरूलाई मञ्च प्रदान गर्नुका साथै दर्शकहरूको मनोरञ्जनमा पनि विशेष योगदान पुर्याएको छ।
गत वर्षको सिजन–५ मा करण परियारले उपाधि जितेका थिए। नेपाल आइडलले हरेक वर्ष नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्दै नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।









Facebook Comments