
काठमाडौं । करिब ६ महिना नेपाल प्रहरीको कमान्ड सम्हाले पनि निर्विवाद बनेर नेपाल प्रहरीका आईजीपी दीपक थापा यही भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।
नेपाल प्रहरीको इतिहासमा नै ६७ दिनको छोटो अवधिका लागि आईजीपी बन्ने दुर्लभ उदाहरण खापुङ बन्न पुगेका छन् । संसद्मा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा खापुङले ६७ दिन मात्र नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन् । यसअघि ठाकुरप्रसाद ज्ञवाली साढे ५ महिनाका लागि आईजीपी भएका थिए ।
प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर खापुङले आगामी कात्तिक २६ मा अनिवार्य अवकाश पाउनेछन् ।प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमणमा जाने भएकाले त्यसअघि नै सरकारले आईजीपी नियुक्त गरेको हो ।
त्यसो त हालका आईजीपी थापाको कार्यकाल थप हुने गरी सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुरसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले प्रहरी नियमावली संशोधन गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषद्मा लैजाने विषयमा सत्तारुढ दलका नेताहरू सकारात्मक भइरहेकोे अवस्थामा प्रधानमन्त्री ओलीले अचानक अनिच्छा देखाएको उच्चस्रोतले देशान्तरलाई बतायो ।
एक दिनअघिसम्म थापाको म्याद थप्ने विषयमा सकारात्मक देखिएका ओलीले भोलिपल्ट किन कुरा फेरे, यो विषय अर्थपूर्ण रहेको पनि समाचारस्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका पूर्वसुरक्षा प्रमुख र पूर्वएमाले नेताका भाइ नाता पर्ने भएकाले खापुङप्रति ओली सकारात्मक देखिएको हुनसक्ने पनि स्रोतले जनायो ।
यसअघिका आईजीपी वसन्त कुँवर र दीपक थापा पनि खापुङसँगै प्रतिस्पर्धा गरेर इन्स्पेक्टरमा भर्ना भएका थिए । तर इन्स्पेक्टरमा १ सयजना पास हुँदा क र ख समूहमा विभाजन गरी क समूहमा कुँवर र थापासहित ६० जना थिए । तर, २०५१ चैत ५ गते कुँवरसहित ५२ जनालाई मात्रै नियुक्त गरेर बाँकी ८ जनालाई २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो ।
जतिबेला दीपक थापासहित ८ जना नियुक्त भएका थिए । तीमध्ये आईजीपी थापा र एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङले पनि १८ गते नै थापासँगै अनिवार्य अवकाश पाउनेछन् । खापुङसँगै प्रहरी इन्स्पेक्टरको फारम भरेका, तर फरक मितिमा नियुक्ति पत्र पाएका एआईजी कृष्णहरि शर्मा पोखरेलले भने उमेरहदका कारण भदौ १४ मा अवकाश पाएका छन् । तीन लटमा नियुक्ति पाएका सोही ब्याचका धेरै सहकर्मीहरूले यसअघि नै अवकाश पाइसकेका छन् ।
खापुङसहित समूह ख मा परेका ४० जनालाई विशेष दरबन्दी सिर्जना गरेर २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा नियुक्त गरिएको थियो ।
२०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका खापुङ एआईजी भएसँगै २०८१ मंसिर २७ मा सीआईबीको प्रमुख भएका हुन् ।
सीआईबीमा डीआईजी पदमा बसेर काम गर्दागर्दै उनी एआईजीमा बढुवा भएका थिए । प्रबल जनसेवाश्री प्राप्त गरेका खापुङ गीतकार समेत हुन् । उनले लेखेको ‘चाहिन्न मलाई नदेऊ सहारा’ बोलको गीत अशोक मुकारुङको स्वरमा हालै सार्वजनिक भएको थियो ।









Facebook Comments