
काठमाडौं । आफूलाई माओवादीको सुप्रिमो ठान्दै आइरहेका र पार्टीभित्र एकछत्र नेतृत्वमा रहिरहेका पुष्पकमल दाहाल उर्फ प्रचण्ड अहिले आएर भ्रातृ संगठनहरूमा प्रभाव जनाएका र पार्टीभित्रै पनि उनको नेतृत्वको विकल्प खोज्ने समूहको नेता भएका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’सँग त्रसित भएको प्रचण्डकै अभिव्यक्तिहरूले पुष्टि गरेको छ ।
प्रभाकरसँग विवाद सुरु भएदेखि हरेक सार्वजनिक मञ्चमा उनीविरुद्ध बोल्दै आएका प्रचण्ड आफैँले प्रभाकर पार्टीमा उनको हैकमवादलाई चुनौती दिने नेताको रूपमा देखिएको स्वीकार गरेको माओवादी उच्चसूत्रले देशान्तरलाई बताएको छ । जनार्दन शर्मालाई उनले मोहन वैद्य, डा. बाबुराम भट्टराईलाई जस्तो सजिलै पार्टीबाट बहिर्गमन गर्न सक्ने अवस्था नरहेको प्रचण्डनिकट स्रोतले बताएको छ ।
प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणको मुद्दालाई जोडतोडका साथ उठाइरहेका जनार्दनलाई पाखा लगाउने रणनीति सुरु गरेका प्रचण्डले जनार्दनविरुद्ध निरन्तर शब्दवाण प्रहार गरिरहेका छन् भने जनार्दन पनि पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना नहुँदा पार्टीमा आज समस्या देखापरेको भन्दै प्रचण्डको नेतृत्वमाथि नै प्रश्न उठाइरहेका छन् ।
मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू अवैध असुलीमा संलग्न रहेको भन्दै आफ्नै पार्टी अध्यक्ष प्रचण्डविरुद्ध फायर खोलेका जनार्दन र प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्ध र टकरावले माओवादी केन्द्रमा हलचल मच्चिरहेको छ । प्रचण्ड र जनार्दनबीचको रस्साकस्सी चलिरहेकै अवस्थामा केही दिनअघि बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाएको भन्दै जनार्दनलाई आत्मालोचना गर्न सुझाव दिएको भए पनि जनार्दनले अस्वीकार गर्दै प्रचण्डले नै आत्मालोचना गर्नुपर्ने अडान राखेपछि उनीहरूबीचको शक्तिसंघर्ष थप पेचिलो बन्न पुगेको छ ।
आफ्ना आलोचकहरूलाई पाखा लगाउने रणनीतिमा जुटेका प्रचण्डको चाल बुझेपछि जनार्दनले पनि आफूनिकट नेता तथा कार्यकर्ताहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल तीव्र पारेको माओवादीनिकट समाचारस्रोतले देशान्तरलाई बतायो । पार्टी पदाधिकारी र स्थायी कमिटीमा एकलौटी पकड रहे पनि पार्टीको जनवर्गीय संगठनहरू र पार्टी संगठनमा पकड राम्रो देखिएपछि जनार्दनको चुनौतीको रूपमा लिँदै उनलाई पाखा लगाएर चुनौतीरहित बन्न प्रयास गरिरहेका छन् ।
यसैक्रममा उनले नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत पार्टी एकता गर्ने विषयमा छलफल चलाएका छन् । केही दिनअघि विप्लवको हरिसिद्धिस्थित घरमा नै पुगेर प्रचण्डले पार्टी एकताका विषयमा संवाद गरेका थिए ।
पार्टीभित्र लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरणको कुरालाई निरन्तर उठाउँदै आएका जनार्दन प्रचण्डको पटकपटकको चेतावनीबाट समेत टसमस नदेखिनुले उनको पार्टीमा पकड राम्रै रहेको विश्लेषण भइरहेको छ ।
प्रचण्डलाई लक्षित गर्दै ‘शेषनागले पृथ्वी थाम्ने कुरा किम्वदन्ती’ भएको टिप्पणी गर्दै प्रचण्डकै कारण आज पार्टीमा विभिन्न समस्या देखापरेको बताएका छन् । के गर्छस् मंगले, आफ्नै ढंगले उखानजस्तो चुनावलगत्तै सरकारको नेतृत्व गर्ने अवसर आए पनि गठबन्धन फेर्ने अभियानमा लागेकै कारण आज यस्तो ठाउँमा पुगिएको टिप्पणी गरेका छन् ।
पार्टीमा तीव्र असन्तुष्टि चुलिएर प्रचण्ड र जनार्दनबीचको विवादले पनि उग्र रूप लिएपछि चाँडै नै माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी भइरहेको छ । बैठकमा प्रचण्डको कार्यशैलीप्रति जनार्दनसहित असन्तुष्ट नेताहरूसँग घनीभूत छलफल हुने र छलफलबाटै समाधान खोजिने माओवादीनिकट स्रोतले जनाएको छ ।









Facebook Comments