काठमाडौं । संविधानको मर्मविपरीत राजसंस्थाको वकालत गर्ने शक्तिको रूपमा रहेको राप्रपा अहिले आन्तरिक कलहमा फस्दै गएको छ । पछिल्लो समय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कदमका बारेमा शीर्ष नेताहरू नै असन्तुष्ट भएका छन् । खासगरी विगतमा उनीनिकट रहेका धवलशमशेर राणा पनि लिङ्देनसँग असन्तुष्ट छन् ।

राप्रपाले आन्तरिक किचलो र अनुशासनहीनताको आरोपमा पार्टीका ८ जना नेतामाथि कारबाही गर्ने तयारी गरेपछि विवाद झनै चुलिएको छ । पार्टीको अनुशासन समितिले काठमाडौं र सुर्खेतका यी नेताहरूलाई स्पष्टीकरण सोधेर उनीहरूको जवाफ अध्ययन गरिरहेको छ ।

ad

साउन २८ गते राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा भएको झडप यस कारबाहीको मुख्य कारण हो । पार्टी अध्यक्ष लिङ्देनले उद्घाटन गर्न पुगेको उक्त अधिवेशनमा संस्थापन र संस्थापनइतर पक्षबीच हात हालाहाल भएपछि अध्यक्ष लिङ्देनले नै अधिवेशन स्थगित गरेका थिए ।

यस घटनामा संलग्न भएको आरोपमा अनुशासन समितिले नवराज सिंखडा (काठमाडौं जिल्ला अध्यक्ष), रिद्धिप्रताप राणा (क्षेत्र नं. ४ का अध्यक्ष) र ज्योति लामा (युवा संगठनका नेता) सहित चारजनलाई स्पष्टीकरण सोधेको थियो ।

अनुशासन समितिका अनुसार, यी नेताहरूले अधिवेशनलाई नै प्रभावित पार्ने उद्देश्यले अराजक गतिविधि गरेका थिए । विशेषगरी, प्रवीण थोकर तामाङको नेतृत्वमा घटना भएको संस्थापन पक्षले बताएको छ । अधिवेशन स्थगित भएपछि ज्योति लामाले त आफूलाई नै अध्यक्ष घोषणा गरेको र अर्को ठाउँमा मानिसहरू भेला गरी प्रशिक्षण दिएको आरोपसमेत लागेको छ । यसैगरी, सुर्खेतको पार्टी कार्यालयमा तालाबन्दी गर्न उक्साएको आरोपमा अन्य चार नेतामाथि पनि कारबाहीको तयारी छ ।

उनीहरूले अध्यक्ष लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई सहयोग गरेको आरोप लागेको छ ।
स्पष्टीकरण सोधिएका सुर्खेतका नेताहरूमा केन्द्रीय सदस्यद्वय जनक सिंह र र भीमबहादुर शाही छन् भने युवा संगठनका नेता प्रेम बीसी र सुर्खेत जिल्ला कार्यसमिति उपाध्यक्ष लक्ष्मीकुमार सार्की पनि रहेकी छिन् ।

उनीहरूलाई मुकुन्दश्याम गिरीको पक्षमा रहेर पार्टी हितविपरीत काम गरेको आरोप छ । गिरीलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि त्यसको विरोधमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूले निर्णय फिर्ता लिन दबाब दिएका थिए र त्यसै क्रममा सुर्खेतको पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा र कुन्तिकुमारी शाही बीच पछिल्लो समय मतभेद बढ्दै जाँदा पार्टीले गर्ने भनेको आन्दोलन पनि अहिले तुहिएको छ । संस्थापनइतर पक्षले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै फरक विचार राखेकै आधारमा नेताहरूलाई कारबाही गर्ने प्रवृत्तिले पार्टीलाई नै क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।