
भक्तपुर । भक्तपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष पुकार पराजुलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको भाषणप्रति दुःख व्यक्त गरेका छन् ।
स्ववियुका अध्यक्ष पराजुलीले खुला पत्रमार्फत नेपाल मजदुर किसान पार्टी नगरमै सीमित भई संकुुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा भएको बताएका छन् ।
‘हालै तपाईंले सार्वजनिक रूपमा दिएको भाषणमा भक्तपुर क्याम्पसको जग्गा र पर्खालको संरक्षणका लागि गरिएको आन्दोलनलाई १० लाख लिएको भनेर आरोप लगाउनुभयो,’ अध्यक्ष पराजुलीले लेखेका छन, ‘विनाशकाले विपरीत बुद्धिः’ भन्ने जनउक्ति आज सान्दर्भिक देखिन्छ । आफ्नो पार्टी नगरमै सीमित भई संकुुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा यस्तो गलत आरोपमा परिणत भएको प्रस्ट देखिन्छ ।’
अध्यक्ष बिजुक्छेको भाषणमा ‘हेजु काण्ड’ र चेतावनीप्रति कटाक्ष गर्दै उनले भक्तपुर क्याम्पस कुनै गोरखा दक्षिणबाहुबाट उपहारस्वरूप पाएको सम्पत्ति नभई जनताको श्रम, बुद्धिजीवीहरूको योगदान र विद्यार्थीहरूको संघर्षबाट बनेको साझा सम्पत्ति रहेको बताएका छन् ।
स्ववियुका अध्यक्ष पराजुलीले विद्यार्थीहरू चेतनशील रहेको भन्दै पार्टी वा संगठनका नेताले झुट र आरोपको राजनीति गरे त्यसको प्रतिवाद गर्न सधैँ तयार हुने समेत बताए ।
भक्तपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसको जग्गा भक्तपुर नगरपालिकलाई दिएको भन्दै क्याम्पसको रक्षार्थ आन्दोलन गरिरहेको छ ।










Facebook Comments