काठमाडौं । मुसाले गीत गाउने कुरा सुन्दा अचम्म लागे पनि यो तथ्य वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । अनुसन्धानकर्ताले यसलाई ‘सिंगिङ माइस’ नाम दिएका छन् । अध्ययनअनुसार, मानिसझैँ मुसाले पनि एक–अर्काको आवाज चिन्न सक्छन् र त्यसको जवाफ गीतमार्फत दिन्छन् । यो गायन आदान–प्रदान मानिसको संज्ञानात्मक क्षमतासँग मिल्दोजुल्दो रहेको वैज्ञानिकले बताएका छन् ।

तर, मुसाको गीत मानव कानले प्रत्यक्ष सुन्न सक्दैन । यसको लागि विशेष प्रकारको उपकरण आवश्यक पर्छ । मुसाको गायन संवाद र संज्ञानात्मक क्षमताका विषयमा अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयमा भक्तपुर बालकोटकी यमन थापाले गहिरो अनुसन्धान गरिरहेकी छिन् । हाल उनी कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीबाट पूर्ण छात्रवृत्तिमा पीएचडी गरिरहेकी छिन् ।

ad

२४ वर्षीया थापा विश्वकै कान्छी वैज्ञानिक हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी यमन बाल्यकालदेखि नै लगनशील र मिहिनेती भएको उनका पिता विमल थापाले बताए । आफ्नी छोरीले हालैका वर्षहरूमा अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धिहरू हासिल गरिरहेकी पनि थापाले जानकारी दिए ।

बाल्यकालदेखि नै लगनशील र मिहिनेती थापा अमेरिकाको काल्डवेयल विश्वविद्यालयबाट स्नातक तहमा उत्कृष्ट स्थान हासिल गर्दै टप गरेकी थिइन् । सन् २०२१ मा उनले स्टुडेन्ट लिडरसिप अवार्ड पनि जित्न सफल भएकी थिइन् । मुसाको ‘गायन संवाद’सम्बन्धी उनको अनुसन्धान अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको चासोको विषय बनेको छ । आफ्नो अनुसन्धानलाई थप विस्तारित गर्दै जीवविज्ञान र संज्ञानात्मक विज्ञानका क्षेत्रमा योगदान पुर्‍याउने योजनामा थापा रहेकी छिन् ।