
काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्थगित गर्ने निर्णय गरेपछि विद्या पुनः सक्रिय राजनीतिमा फर्किन मिल्ने कि नमिल्ने भन्ने विषयमा नेकपा (एमाले)भित्र मात्र नभएर देशकै राजनीतिक वृत्तमा विभिन्न मतमतान्तर भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिजस्तो देशकै सर्वोच्च पदमा पुगिसकेको व्यक्तिले पार्टी सदस्यतालाई निरन्तरता दिँदा गणतान्त्रिक व्यवस्थामै प्रश्न उठ्ने अडान लिएका छन् भने भण्डारी पक्षले ओली पक्षको कदमलाई अन्यायपूर्ण र व्यक्तिगत पूर्वाग्रहले प्रेरित निर्णयको संज्ञा दिएको छ । यसपछि एमाले दुई खेमामा विभाजित हुँदै गएको छ ।
भण्डारीले सम्पर्क कार्यालय खोलेरै सक्रिय राजनीतिबाट पछि नहट्ने अडान लिएकी छिन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले समेत ओलीको निर्णयप्रति असहमति जनाउँदै आएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पनि निष्क्रिय बसिरहने रणनीति छाड्दै मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक गतिविधि तीव्र बनाएकी छन् । उनकी छोरी उषाकिरण भण्डारीको अध्यक्षतामा रहेको फाउन्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । ओली पक्षले यसलाई पार्टीविरोधी गतिविधि भन्दै आलोचना गर्दै आएको छ । ओलीपक्षधर कतिपय नेताहरूले फाउन्डेसनलाई ‘ठगी खाने संस्था’सम्मको उपमा दिएका छन् ।
आगामी भदौ २० देखि २३ सम्म हुने विधान महाधिवेशनलाई लक्षित गर्दै दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् । सदस्यता विवाद समाधान नभए भण्डारी पक्षले आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष पदमा अगाडि सार्ने तयारी समेत गरेको छ । ओली पक्ष भने विधान संशोधनमार्फत नेतृत्वमा आफ्नो पकड बलियो बनाउन सक्रिय छ ।
केही दिनअघि च्यासलस्थित पार्टी कार्यालयमा ओली र भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भए पनि विवाद समाधानमा कुनै प्रगति भएन । बरु भेटपछिका दिनहरूमा दुवै पक्षले आफ्ना धारणा अझै कठोर ढंगले प्रस्तुत गरेका छन् ।
जिल्लास्तरीय बैठक र गतिविधिहरूमा समेत अब यो विवाद प्रस्ट देखिन थालेको छ । भण्डारी पक्षले हालै थापागाउँमा कार्यालय स्थापना गरेपछि ओली समर्थक कार्यकर्ताले त्यसको कडा प्रतिवाद गरेका छन् । यसबाट टकराव केवल शीर्ष तहमा सीमित नरही संगठनका तल्लो तहसम्म फैलिन थालेको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूले एमालेको यो टकरावलाई गम्भीर मानिरहेका छन् । अध्यक्ष ओलीले मिसन–०८४ मार्फत आगामी निर्वाचनमा पार्टीलाई निर्णायक शक्ति बनाउने लक्ष्य लिएका छन् । तर भण्डारीसँगको विवाद बढ्दै गए पार्टी एकीकृत रूपमा चुनावी प्रतिस्पर्धामा उत्रन कठिन हुने उनीहरूको आकलन छ ।
भण्डारीले सार्वजनिक रूपमा एमाले आफ्नो पहिलो प्राथमिकता रहेको दोहोर्याएकी छिन् तर सहमति नभए वैकल्पिक बाटो पनि खुला रहेको संकेत दिएकी छन् । यसलाई ओली पक्षले गम्भीरतापूर्वक लिएको छ ।
आउँदो विधान महाधिवेशन एमालेको भविष्य तय गर्ने निर्णायक थलो बन्ने देखिन्छ । यदि त्यहाँ सहमति कायम भए पार्टी एकीकृत रहन सक्नेछ भने असहमति बढेमा औपचारिक विभाजनको सम्भावना समेत बलियो हुने संकेत मिलिसकेको छ । यसरी हेर्दा, विद्या–ओली टकराव केवल व्यक्तिगत मतभिन्नता मात्र नभई पार्टीको संगठनात्मक एकता, भविष्यको नेतृत्व र आगामी निर्वाचनसँग प्रत्यक्ष जोडिएको विवादका रूपमा स्थापित भएको छ ।
वीरगन्जमा ५१ किलोको माला
वीरगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘बृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौंबाट सिमरा विमानस्थल पुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा एमालेका नेताहरूले स्वागत गरेका थिए । एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु लगायतका नेताहरूले ५१ किलोको माला लगाई स्वागत गरेका हुन् ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भण्डारीलाई ‘गणतन्त्रको गौरव’ भन्दै स्वागत र सम्मान गरिएको बताए । उनले भण्डारीको राष्ट्रपति कार्यकाल र एमाले नेतृत्वमा रहँदा खेलेको भूमिकाको प्रशंसा समेत गरे ।









Facebook Comments