काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्राप्त अधिकार गुम्ने खतरा बढेकाले त्यसको रक्षाका लागि अब सशक्त शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब नेपालमा फेरि विद्रोह गर्ने, युद्ध गर्ने वा हतियार उठाउनुपर्ने र सकिने दुवै अवस्था नरहेको बताए ।

ad

‘फेरि विद्रोह गर्न, युद्ध गर्न, हतियार उठाउन पर्ने र सक्ने दुवै ठाउँमा छैनौँ । पर्ने ठाउँमा नि पुगिसक्या छैनौँ, सक्ने ठाउँमा नि पुग्या छैनौँ,’ अध्यक्ष प्रचण्डले भने ।

उनले सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्न खोज्दा आफ्नो नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक हटाइएको दाबी गरे । ‘कसरी बाहिरियौँ त भन्दा, जो सुशासन विरोधी छन्, जो भ्रष्टाचारमा लिप्त छन्, जो दलित र उत्पीडित वर्ग विरोधी छन्, उनीहरूले ठूलो जालझेल र षड्यन्त्र गरेर राम्रो काम गर्न खोज्दा हामीलाई हटाइयो,’ उनले भने ।

अध्यक्ष दाहालले वर्तमान सरकारप्रति लक्षित गर्दै उनीहरूसँग दुईतिहाइको बहुमत भए पनि त्यसको प्रयोग भ्रष्टाचार र भ्रष्टलाई बचाउन भइरहेको आरोप लगाए ।

‘अहिले हामी त्यस्तो ठाउँमा छौँ, जहाँ उनीहरूले दुईतिहाइ लिएर बसेका छन् । जति उफ्रे पनि केही हुन्न भन्ने छ,’ उनले भने, ‘भ्रष्टहरूलाई बचाइएकै छ, अदालतलाई पट्याइएकै छ, संवैधानिक निकाय कब्जा गरिएकै छ ।’

संविधानमा दलित र उत्पीडित समुदायका लागि धेरै राम्रा अधिकार लेखिए पनि राज्यको संरचना र कर्मचारीतन्त्रका कारण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

‘संविधानमा राम्रा कुरा लेखिए, तर लागू गर्ने तागत हामीसँग छैन । जोसँग तागत छ, उनीहरू लागू गर्न चाहँदैनन्,’ उनले भने, ‘त्यसैले अहिले हामीसँग रहेको विकल्प भनेको सदन, सडक र सरकारका सबै मोर्चाबाट सशक्त हस्तक्षेप र आन्दोलन नै हो ।’

उनले दलित समुदायलाई पनि अब संयुक्त रूपमा सशक्त आन्दोलनको तयारी गर्न अपिल गरे ।