काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाललाई जानकारी नै नदिइ चीन र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानीका सन्दर्भमा भएको सहमतिबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्पष्ट धारणा राख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उहाँले सुगौली सन्धिदेखि नै कायम भएको नेपालको भूमिको जग्गाधनी प्रमाणपत्रसमेत रहेको र अमेरिकी तथा बेलायतको पुस्तकालयमा रहेको नक्साबाट पनि त्यो प्रमाणित हुने स्पष्ट पारे ।

ad

सांसद पाण्डेले भू–भागका हिसाबले देश सानो तथा ठूलो हुनसक्ने भए पनि सार्वभौमसत्ताका सन्दर्भमा कुनै पनि सम्झौता हुन नसक्ने धारणा राखे । उनले राष्ट्रिय सहमतिका साथ नेपालको भूमि फिर्ता गराउन सरकारले विशेष पहल गरोस् भन्ने कामना गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रञ्जुकमारी झाले वार्ता र कूटनीतिका माध्यमबाट नेपालको भूमि फिर्ता गराउन प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा विशेष पहल हुने विश्वास व्यक्त गरिन् । उनले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

जनमत पार्टीका सांसद अनिता देवीले कृषि विद्युतीकरणका नाममा तराई–मधेसमा खम्बा गाड्दा कुनै पनि मापदण्डको ख्याल नगरिएका कारण दुर्घटना बढेको उल्लेख गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । उनले पनि उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

जसपा नेपालका सांसद उपेन्द्र यादवले संविधानमा उल्लेख गरिएको मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्र २७ वटा कानुन निर्माण गर्ने व्यवस्था भए पनि १० वर्षसम्म पनि बन्न नसकेको बताउनुभयो । यस्तै, संघीयता कार्यान्वयनका लागि निर्माण हुनुपर्ने कानुन निर्माण हुन नसकेको, संघ र प्रदेशको साझा अधिकारका विषयमा पनि ध्यान नदिइएको उनको भनाइ थियो ।

यादवले कबाड व्यवसायी आन्दोलनमा रहेको र तराई–मधेसमा हैजा फैलिएको, उखु किसान पनि आन्दोलनमा रहेको उल्लेख गर्दै तीलगायत सुक्खाग्रस्त क्षेत्रमा रहेका किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद रामप्रकाश चौधरीले सर्लाहीमा चोरको बिगबिगीका कारण पशुचौपाया, मोटरसाइकललगायत अन्य धनमाल तथा विद्युतीय ट्रान्सफर्मर चोरी भएका कारण जनजीवन प्रभावित भएको भन्दै शान्तिसुरक्षाको प्रबन्ध गर्न माग गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा गरिबी निवारणबारे बुझेर आउन आग्रह गरे ।

उनले सुगौली सन्धीमा नै उल्लेख भएको नेपाली भूमिको रक्षा गर्न र संसद्को दुई तिहाइले पारित गरेको चुच्चे नक्सा संयुक्त राष्ट्र संघका सदस्यहरूलाई किन नपठाइएको भनेर प्रश्न गर्नुभयो । सुवालले नेपालीलाई सस्तोमा बिजुली उपलब्ध गराउन माग गरे ।

नेपाली कांग्रेसका सांसद दिनेश यादवले सप्तरीको लालगढमा भएको एक हत्याका सन्दर्भमा सुरक्षाकर्मी दोषी देखिएको भन्दै कारबाहीको माग गरे । उनले नेपाल– भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीले स्थानीयवासीलाई दुःख दिइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । तराई– मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा भए पनि कुनै राहतको प्रबन्ध हुन नसकेको यादवको गुनासो थियो ।

सांसद अम्मरबहादुर रायमाझीले कृषि, पर्यटन र उद्योगजस्ता क्षेत्र नेपालमा रोजगारी र अवसर सिर्जना गर्ने दीर्घकालीन समृद्धिका आधार भए पनि यी क्षेत्र सशक्त रुपमा रुपान्तरण हुन नसकेको बताए । उनले कृषिमा आत्मनिर्भर हुने ठाउँमा पनि आयात गर्नुपरेको, पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकेको तथा नेपालका औद्योगिक क्षेत्र पनि उद्योगमैत्री हुननसकेको उल्लेख गरे ।

सांसद मैना कार्कीले सीमासम्बन्धी समस्याको कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सामान्य वर्षा हुनेबित्तिकै देशभरका विभिन्न स्थानमा बिजुली जाने गरेका र त्यसले जनजीवन कष्टकर भएका तर्फ ध्यानाकर्षण गराइन् ।

कार्कीले दुर्गम बस्तीमा रहेका स्वास्थ्य चौकी, जिल्ला र प्रादेशिक अस्पतालमा उच्चस्तरीय उपचार सुविधा नभएकाले अझै स्वास्थ्योपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था रहेकातर्फ ध्यानाकर्षण गराइन् ।