काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले न्यायाधीश भट्टलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट न्याय परिषद्को सिफारिसमा उच्च अदालत जनकपुरबाट विशेष अदालतमा सरुवा भएका थिए । यसअघि, गत साउन ३० गतेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा भट्टसहित चार नयाँ सदस्यको नाम सिफारिस गरेको थियो । कानुनअनुसार विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्याय परिषद्को परामर्शमा सरकारबाट सिफारिस हुन्छन् ।

ad

परिषद्ले उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोक्ने गरी सिफारिस गरेको थियो ।

विशेष अदालतका अध्यक्ष रहेका न्यायाधीश टेकनारायण कुँवरलाई परिषद्ले उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा सिफारिस गरेको छ ।