ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विद्युत निर्यातमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेका छन्। उनको नेतृत्वमा हालसम्मकै सबैभन्दा बढी दैनिक ११३० मेगावाटभन्दा बढी विद्युत भारत र बंगलादेशमा निर्यात भइरहेको छ।

मन्त्री खड्काका अनुसार, यही निर्यात दर कायम राख्न सकेमा नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ। यसबाट कुल ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत बिक्री हुनेछ।

ad

मन्त्री खड्काले 'उर्जा मार्गचित्र-२०८१' सहित दीर्घकालीन र स्पष्ट लक्ष्य तय गरिएको बताए। यसअनुसार, सन् २०३५ सम्ममा नेपालमा कुल २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने महत्वाकांक्षी योजना बनाइएको छ। यस अन्तर्गत, भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट विद्युत निर्यात गर्ने ठोस लक्ष्य राखिएको छ।

हालको ११३० मेगावाटभन्दा बढी विद्युत निर्यातलाई उनले नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्वपूर्ण कदम भएको बताए। यस ऐतिहासिक सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण संघ–संस्था र कर्मचारीहरूलाई मन्त्री खड्काले धन्यवाद ज्ञापन गरे।

आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने लक्ष्य पूरा गर्न सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य रहेको उनले बताए। सबैको समन्वय र संयुक्त प्रयासबाट यो लक्ष्य अवश्य पूरा हुने उनको दृढ विश्वास छ।