काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अंक मात्रै जोड्न सफल भयो ।

ad

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बंगलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अंक छ ।