
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कृषि नीतिमाथि गम्भीर प्रश्न उठाउँदै किसानका समस्याप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले खेतीको समयमा मल नपाउने, किसानहरू मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादित दूध सडकमा फाल्नुपर्ने र उखुको भुक्तानी नपाउने जस्ता समस्याले कृषि क्षेत्र संकटमा परेको बताएका छन्।
"खाद्यान्नमा आत्मनिर्भरताको कुरा त परै जाओस्, किसानहरू आधारभूत आवश्यकताबाटै वञ्चित छन्," कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भन्ने कुरा किताब र भाषणमा मात्रै सीमित भएको भन्दै व्यावहारिक कदम चाल्नुपर्नेमा जोड दिए।
उखुको बोट बोकेर किसानहरू सडक आन्दोलनमा उत्रनु दुखद् भएको उल्लेख गर्दै उनले सरकारलाई किसानका माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। "किसान सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्न सरकारले मल, बजार र भुक्तानीको सहज व्यवस्था गर्नुपर्छ," उनले भने।
कोइरालाले अनुदान कटौती र नीतिगत कमजोरीले किसानको मनोबल घट्दै गएको बताउँदै दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनको खाँचो औंल्याए।









Facebook Comments