काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार चयन गर्न र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका छन् ।

यसबारेमा छलफल गर्न सभापति देउवाले उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास, बालुवाटारमा बिहान १० बजेपछि बोलाएका थिए ।

ad


साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्ने बाध्यतात्मक व्यवस्था छ ।