
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूले निष्पक्ष वातावरणमा महाधिवेशन सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वअध्यक्षहरूलाई सक्रिय भई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
उनीहरूले हालै पार्टीका तीन पूर्वअध्यक्षहरू-लोकन्द्रबहादुर चन्द, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेट गरी पार्टीभित्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्। असन्तुष्ट समूहले विधान विपरीत एकल नेतृत्वको अभ्यास भइरहेको र यसले सङ्गठनमा सङ्कट निम्त्याएको आरोप लगाएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानो शैलीमा एकल नेतृत्व गर्दा पार्टीमा समस्या बढेको उनीहरुको आरोप छ।विधान सामूहिक नेतृत्वमा आधारित रहे लिङदेनबाट भएको विधानको शृङ्खलाबद्ध उल्लङ्घन, मन नपरेका पार्टी नेता तथा सदस्यहरूलाई विधान मिच्दै मनलागी कारबाही गरेका छन् ।
बिहीबार असन्तुष्ट समूहका विक्रम पाण्डे, डा. धवलशम्सेर राणा, विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही र सगुन सुन्दर लावतीलगायतका नेताहरूले बिहीबार राणा, शुक्रबार चन्द र शनिबार डा. लोहनीसँग भेटे गरेका छन् ।
भेटमा उनीहरूले समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा असन्तुष्ट नेताहरूले पूर्वअध्यक्षहरुको अभिभावकीय भूमिका अनुरोध गरेका छन् ।
यसअघि बुधबार असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै विधान उल्लङ्घन, मनलाग्दी कारबाही र निष्कासन फिर्ता लिन आग्रह गरेका थिए।









Facebook Comments