
हरितालिका तीज, हिन्दू महिलाहरूको महान् पर्व, धार्मिक, सामाजिक र सांस्कृतिक महत्वकासाथ मनाइने पर्व हो । तीजको महात्म्य भगवान् शिव र पार्वतीको पवित्र सम्बन्धसँग जोडिएको छ, जसमा अविवाहित महिलाहरूले सुयोग्य वर पाउन र विवाहितहरूको दाम्पत्य जीवनको सुख र समृद्धिकासाथ बितोस् भन्नाको खातिर सदियौँदेखि पतिको दीर्घायुको लागि व्रत बस्ने परम्परा चलिआएको छ । तीजको मूल विशेषता भनेको परिवारसँग बसेर मिठोमसिनो खाने, नाचगान गर्ने, दुःखसुख बाँड्ने र एकअर्कालाई सहयोग गर्ने हो ।
तर, आजकल आधुनिकताको नाममा तडकभडक र विलासिता प्रदर्शनको रूपमा यसलाई लिन थालिएको छ । दर (मिठोमसिनो खाना) खाएर मनाउने तीज महिनैभरि अश्लिल गीतसंगीतमा मदिरापानसहित झुम्दै भड्किलोरूपमा मनाउन थालिएको छ । यसले सांस्कृतिक पर्वलाई विकृत त पार्दै नै छ, अर्कोतर्फ समाजमा अभद्रता प्रदर्शन पनि गरिरहेको छ । त्यसैले परम्परा र संस्कृतिलाई बचाउने हो भने यस्तो प्रदर्शन रोक्नै पर्ने भएको छ ।
महिलाहरूको महान् पर्व हरितालिका तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भए पनि आधुनिकताका नाममा नचाहिँदो तडकभडकले अहिले देखावटी, भड्किलो र विलासी बन्न पुग्दा तीजको धार्मिक, पारम्पारिक र सामाजिक विशेषतालाई आँच पुर्याइरहेको छ । तीजको अघिल्लो रातमा मिठा–मिठा र आडिलो परिकार ‘दर’ खाएर भोलीपल्ट दिनभर निराहार व्रत बसी भगवान् शिवजीको पूजाआराधना गर्दै दिदीबहिनीहरूसँग मिलेर रमाइलोसँग नाँचगान गर्ने र एकअर्काको दुःख, वेदना साटासाट गर्दै मनका वह पोख्ने पर्वको रूपमा तीज पर्वलाई लिने गरिए तापनि अहिले आएर महिनौँ अगाडि होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसहरूमा दर खाने नाममा उत्ताउला गीत–संगीतसहितको नाचगान, महँगा–महँगा पहिरन र गरगहनाको प्रदर्शन, मदिरापान गर्ने होडबाजी नै चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउने खतरा समेत उत्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हरितालिका तीज यो वर्ष भदौ ९ गते दर खाने र १० गते तीज रहेको छ ।
परिवर्तित समयअनुसार चाडपर्व मनाउने तौरतरिकामा केही परिवर्तन आउनु स्वभाविकै हो । तर पर्वको मौलिक पक्षमा नै खलल पुर्याएर महँगा कपडा, गरगहना प्रदर्शन गर्ने होडबाजीले सामाजिक सद्भाव असर पुर्याउँदै गएको छ । तीजको भड्किलोपनले समाजमा असमानता बढाउने खतरा पनि देखिन्छ । सम्पन्न वर्गले होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा लाखौँ खर्च गरेर महँगो कार्यक्रम आयोजना गर्दा सामान्य महिलाले त्यो प्रदर्शन गर्न नसक्ने अवस्थाले महिलाहरूबीच सामाजिक दबाब, हीनताबोध र वर्गीय भेदभाव सिर्जना गर्न पुगेको छ । यसले हुने खाने र हुँदा खानेबीच वर्गीय असमानतासँगै पारिवारिक विखण्डनसमेत निम्त्याउँदै लगेको छ । तीज पर्वको महत्व नै संकटमा पर्ने गरी बजारमा आउने गीतसंगीत र महिनौँदेखि दर खाने तडकभडकले तीजको मौलिकता घट्दै गएको छ ।
धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाऊँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ । आफ्नो छुट्टै विशेषता बोकेको मौलिक पर्व भएकाले पनि तीजलाई हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्नेमा आडम्बर, भड्किलो प्रदर्शन र विलासीपनको प्रतिस्पर्धा गर्ने प्रवृत्तिले आस्था, भक्ति र संस्कृतिसँग जोडिएको एउटा महत्वपूर्ण पर्व तीजको मौलिक पहिचान नै ओझेलमा पर्ने देखिन्छ । केही वर्षयता तीजको नाममा महिना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाएको छ ।
माइतीघरमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी भेला भएर मनाइने हरितालिका तीज अहिले होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा महिनौँ अगाडिदेखि भोजभतेर गरी मनाउन थालिएको छ । उच्छृंखल गीतहरूमा अंग प्रदर्शन गर्दै नृत्य गर्ने, शृृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन गर्र्दै सामाजिक सञ्जालमा फोटो र भिडिओ अपलोड गर्ने प्रवृत्तिले नेपाली नारीहरूको धार्मिक आस्था, परम्परा र सांस्कृतिक गौरवसँग जोडिएको पर्व तीजको मूल्य, मान्यता र पहिचानमाथि आँच पुर्याउने काम बन्द हुनुपर्छ ।
हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको छ । परापूर्वकालदेखि अवलम्बन गरिएका रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान रहेको छ । कुनै पनि चाडपर्व साधारण र सहज तरिकाले मनायो भने त्यसको ओज र गरिमा अझ बढ्न पुग्छ । महिला स्वतन्त्रताको पर्वको रूपमा स्थापित यस पर्वको सांस्कृतिक महत्वलाई जोगाउनु सचेत नागरिकको दायित्व हो । तीजलाई भड्किलो, विलासी बनाउन नदिई यस पर्वको आस्था र संस्कारलाई प्राथमिकता दिन सकियो भने तीजको वास्तविक महिमा काम रहिरहनेछ ।








Facebook Comments